हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित निर्मल माविमा अध्ययनरत चार जना बालिकालाई आज खोलाले बगाएको छ ।
चारमध्ये एक मृत भेटिनुका साथै एक सकुसल फेला परेकी छिन् भने दुई जना बालिका अझै बेपत्ता छन् ।
विद्यालयबाट घर फर्किने क्रममा बाटो काट्दा हेटौँडा-१९ बासुदेवमा पर्ने बासुदेव खोलाले बगाएर ती बालिका बेपत्ता भएको जानकारी पाएपछि विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारीले प्रहरीलाई खबर गर्नुभएको थियो ।
हेटौँडा-१९ बस्तीपुर बस्ने दीप स्याङ्ताङकी अन्दाजी आठ वर्षीया छोरी रोशनीको शव घटनास्थलबाट करिब ६०० मिटर पर रुखमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
स्थानीय सीताराम भोलनकी १३ वर्षीया छोरी सीमा भोलन भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । उहाँका अनुसार ११ वर्षीया सुमित्रा भोलन र १२ वर्षीया विनिता भोलन अझै बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य भइरहेको छ ।
घटनाको जानकारी प्राप्त हुनेबित्तिकै इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजी तथा उद्धारका लागि खटिएको छ ।











