२ भाद्र २०८३, मंगलवार
,
Latest
मकवानपुरमा स्कारपियो दुर्घटना : न्यायाधीश डाँगीसहित चार जनालाई काठमाडौं लगियो सबै सरकारी कर्मचारीलाई १५/१५ दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र इलामकाे माईखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई आवतजावत सहज ई–कमर्स व्यवसाय सञ्चालन गर्ने सबै व्यवसायी अनिवार्य सूचीकृत हुनुपर्ने इण्डोनेसियामा शक्तिशाली भूकम्पः मृतकको संख्या ५४ पुग्यो भारतको बिहारस्थित मन्दिरमा भागदौडः ७ जनाको मृत्यु जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी-पुनजीर्वित कार्यक्रम’ सञ्चालन होर्मुज जलडमरूमध्यमा नयाँ समुन्द्री मार्गका लागि इरान र ओमानबीच सहमति फिलिपिन्समा भीषण वर्षा र बाढीको प्रकोपः मनिलासहित १२ प्रान्तमा विद्यालय र सरकारी कार्यालय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार



अ+ अ-

काभ्रेपलाञ्चोक।  बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ ।

योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

हाल मुख्य कालोपत्र भएको सडकको चौडाइ औसतमा पाँच दशमलव पाँच मिटर छ । चौडा पारिने सडकको लम्बाइ करिब २० किलोमिटर रहेको कार्यालयले जनाएको छ ।

सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ ।

डिपिआरअनुसार सडक विस्तारमा रु तीन अर्ब ७९ करोड ७८ लाख खर्च हुने अनुमान गरिएको छ । सडक कालोपत्र गर्न प्रतिकिलोमिटर रु १८ करोड पाँच लाख खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।

सडकको दायाँबायाँ १५ मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले बताउनुभयो ।  विस्तार गरिने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकामा पछ ।

विसं २०८१ असोजमा आएको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो । रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकामा हाल क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ ।

क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढाइएको छ ।

काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीतर्फको एक सडकखण्डका लागि रु एक अर्ब बराबरको स्रोत सुनिश्चित गरिएको कार्यालयले जनाएको छ ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) निर्माण सुरु गरिएको थियो ।

एक सय ६० किलोमिटर लामो उक्त राजमार्ग निर्माण सम्पन्न भएपछि विसं २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो । रासस