काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता आधारभूत आवश्यकतामा कर लगाएर जनतालाई थप सास्ती दिएको आरोप लगाउनुभएको छ।
सोमबार काठमाडौंमा ‘डेडिकेटेड तथा ट्रंक लाइन’को बक्यौता महसुल उठाउन र विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै सुरु गरिएको बृहत् हस्ताक्षर अभियानलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो बताउनुभएको हो।
उहाँले वर्तमान सरकारले इतिहासमै पहिलोपटक शिक्षा र स्वास्थ्यसँगै विद्युत्जस्तो संवेदनशील क्षेत्रमा ५ प्रतिशत भ्याट लगाएको भन्दै आलोचना गर्नुभयो। नेपालले विद्युत् उत्पादनमा गर्व गर्दै निर्यातको कुरा गरिरहेको अवस्थामा आफ्नै नागरिकले विद्युत् उपभोग गर्दा कर तिर्नुपर्ने अवस्था विडम्बनापूर्ण भएको उहाँको भनाइ थियो।
लोडसेडिङ अन्त्य गरेर प्रमाणित गरिसकेका व्यक्ति देशमा हुँदाहुँदै तथा करिब १ हजार मेगावाट विद्युत् खेर गइरहेको अवस्थामा समेत सरकारले त्यसको उचित व्यवस्थापन गर्न नसक्नु असक्षमता भएको उहाँले टिप्पणी गर्नुभयो।
अध्यक्ष राउतले ‘उज्यालो नेपाल’ अभियानका संवाहक कुलमान घिसिङको योगदानको चर्चा गर्दै सरकार सञ्चालन गर्ने ढङ्ग नभए आफूहरू विकल्प दिन तयार रहेको बताउनुभयो। विद्युत्मा लगाइएको कर फिर्ता नगरे सरकारले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने उहाँको भनाइ थियो।
देशको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले जनताले ग्यास, राहदानी र अस्पतालमा समेत लामो लाइन बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो।
उहाँले विद्युत्मा कर बढ्दा होटल, स्टुडियो, सैलुनदेखि विद्युतीय सवारीसाधन (ईभी) चार्ज गर्नेसम्मका क्षेत्रमा महँगी बढेको दाबी गर्नुभयो। ग्यासको अभाव र विद्युत्मा कर वृद्धिले जनतालाई थप मारमा पारेको भन्दै उहाँले यस्तो अवस्थाले ठूलो विद्रोह निम्त्याउन सक्ने चेतावनीसमेत दिनुभयो।
प्रधानमन्त्रीको कार्यशैलीमाथि टिप्पणी गर्दै राउतले प्रधानमन्त्रीलाई आफ्नै दल, कर्मचारी संयन्त्र र सल्लाहकारबाट पर्याप्त सहयोग नभएको र उहाँ घेराबन्दीमा परेको जस्तो देखिएको बताउनुभयो। यस्तो अवस्थामा तालमेल नमिल्दा प्रधानमन्त्रीले एक्लैले चमत्कार गर्न नसक्ने उहाँको विश्लेषण थियो।
– न्युज एजेन्सी नेपाल











