काठमाडाैँ । इन्डोनेसियाको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पको भोलिपल्ट आइतबार उद्धारकर्ताले भग्नावशेष र पहिरोमा पुरिएका मानिसको खोजी तीव्र बनाएका छन्। भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्। हजारौँ मानिस विस्थापित भएका छन्।
राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार मङ्गराई क्षेत्रमा २४ र पूर्वी मङ्गराईमा १७ जनाको मृत्यु भएको छ। सिक्का, न्गाडा र एन्डे क्षेत्रमा पनि मानवीय क्षति भएको जनाइएको छ।
फ्लोरेस टापुका विभिन्न छ क्षेत्रमा भूकम्पपछि गएको पहिरोमा मानिस पुरिएको आशङ्कामा उद्धारकर्ताले खोजी गरिरहेका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ७.७ म्याग्निच्युडको भूकम्प पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डेबाट उत्तर–उत्तरपश्चिमतर्फ करिब ६८ किलोमिटर टाढा केन्द्रबिन्दु भएर गएको थियो। भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पले फ्लोरेस टापुको अधिकांश भाग हल्लाएको थियो। यसको धक्का छिमेकी पश्चिमी नुसा तेङ्गारा र दक्षिणी सुलावेसीका केही क्षेत्रमा समेत महसुस गरिएको थियो।
विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पबाट ९०० भन्दा बढी घर पूर्णरूपमा ध्वस्त भएका छन् भने करिब ४५० घरमा क्षति पुगेको छ। करिब पाँच हजार मानिस अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन्। शक्तिशाली परकम्पको त्रासका कारण अन्य हजारौँ बासिन्दाले रात खुला आकाशमुनि बिताएका छन्।
विद्यालय, स्वास्थ्य केन्द्र र चर्चलगायत कम्तीमा १६७ सार्वजनिक संरचनामा क्षति पुगेको छ। राहतकर्मीले चामल, तयारी खाना, खानेपानी, कम्बल र औषधि वितरण सुरु गरेका छन्। विस्थापितका लागि आपत्कालीन आश्रयस्थल निर्माणको काम पनि भइरहेको छ।
अधिकारीहरूले विद्युत् तथा सञ्चार सेवा पुनःस्थापना गर्नु र पहिरोका कारण सम्पर्कविच्छेद भएका दुर्गम गाउँमा राहत पुर्याउनु मुख्य चुनौती रहेको बताएका छन्।
भूकम्पबाट कोमोडो राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा परिचित लाबुआन बाजो पनि प्रभावित भएको छ। पहिरोका कारण फ्लोरेसका विभिन्न बस्ती जोड्ने करिब ७०० किलोमिटर लामो ट्रान्स–फ्लोरेस राजमार्गका केही खण्ड अवरुद्ध भएका छन्।
धेरै बासिन्दाले क्षतिग्रस्त घरमा फर्किनुभन्दा बाहिरै रात बिताएका छन्। लाबुआन बाजोकी किसान अनास्तासिया इमादले भूकम्पको कम्पन निकै तीव्र र डरलाग्दो रहेको बताउनुभयो। उहाँले क्षतिग्रस्त घरनजिकैको अस्थायी आश्रयबाट भन्नुभयो, “हामीलाई परकम्पका कारण घर भत्किएर आफूहरूमाथि खस्ने डर थियो।”
पहुँच कठिन भएका मङ्गराई, पूर्वी मङ्गराई र नागेकेओलगायत क्षेत्रमा उद्धार टोलीले आइतबार खोजी कार्य पुनः सुरु गरेका छन्।
मौमेरेस्थित खोज तथा उद्धार कार्यालयका प्रमुख फतुर रहमानका अनुसार अधिकांश पहिरो हटाएर केही पृथक गाउँमा सडक सम्पर्क पुनःस्थापित गरिएको छ। तर सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा खोजी तथा उद्धार कार्य प्रभावित भएको उहाँले बताउनुभयो। उद्धारकर्ताले भत्किएका घर तथा अन्य संरचनाको भग्नावशेषमा सम्भावित पीडितको खोजी गरिरहेका छन्।
भूकम्पको उच्च जोखिममा इन्डोनेसिया
१७ हजारभन्दा बढी टापु रहेको इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ। सक्रिय ज्वालामुखी र फल्ट लाइनका कारण इन्डोनेसिया भूकम्प तथा ज्वालामुखी गतिविधिको उच्च जोखिममा रहेको मुलुक हो।
सन् १९९२ मा फ्लोरेस क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा करिब दुई हजार ५०० जनाको मृत्यु भएको थियो।
त्यस्तै, सन् २०१८ मा ७.५ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामी र भू–तरलीकरणका कारण पालु सहरमा ठूलो विनाश भएको थियो। उक्त विपद्मा चार हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।
सन् २००४ को डिसेम्बरमा इन्डोनेसियाको सुमात्रा टापुनजिकै गएको ९.१ म्याग्निच्युडको भूकम्पपछि आएको विनाशकारी सुनामीले हिन्द महासागर क्षेत्रका एक दर्जनभन्दा बढी देशमा करिब दुई लाख ३० हजार मानिसको ज्यान लिएको थियो ।










