रौतहट । रौतहटको राजपुर नगरपालिका ८ कुडिआमा मुस्लिम र हिन्दु युवाहरु बिच झडप भएको छ । झडपका क्रममा प्रहरीले २१ राउण्ड अश्रुग्यास र ८ राउण्ड हवाइ फायर गरिएको छ । मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाहरूले हिन्दुहरुले मनाउने पर्व छठ घाटमा झण्डा गाडेपछि विवाद सुरु भएको थियो ।
बिहीबार बिहान झण्डा हटाउने विषयमा सहमति जुटेपछि प्रहरीले झण्डा हटाएकोमा केही मुस्मिल युवाको समूहले फेरि त्यहाँ गई झण्डा गाड्न थालेपछि तनाव सिर्जना भएको हो । स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए ।
सोहि क्रममा केही व्यक्तिहरु घाइते पनि भएको बताइएको छ । यही विवादमा बुधबार साँझ पनि झपड हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास सहित २९ राउन्ड हवाई फायर गरेको थियो । त्यस ठाउँमा प्रत्येक वर्ष मुस्लिमहरुको पर्व मुहरर्म र हिन्दुहरुको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको छ ।