२९ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य नेपालले अहिल्यैदेखि ईभी ब्याट्री रिसाइलको स्पष्ट नीति बनाउनुपर्छ:डा. भनोट नेप्से परिसूचक सात अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त



अ+ अ-

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा.डा. विवेक बराल नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गर्नुभएको हो ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्नुभयो ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिस समितिले बरालसहित तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले बराललाई उपकुलपति नियुक्त गर्नुभएको हो ।

गत जेठ १९ गते बसेको काठमाडौँ विश्वविद्यालयको सिनेट बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

समितिको सदस्यमा राष्ट्रिय योजना आयोगको सदस्य रेशु अर्याल ढुंगाना र काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा रहनुभएको थियो ।

बराल काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुनुहुन्छ । उहाँ काठमाडौँ विश्वविद्यालयमै अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँ विश्वविद्यालयको इन्जिनियरिङतर्फको दोस्रो ब्याचका विद्यार्थी हुनुहुन्थ्यो ।

उहाँले काठमाडौँ विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गर्नुभएको छ ।

बरालको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा रहेको छ । उहाँ उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक बन्नुभएको हो ।