काठमाडाैँ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदीखोलाले मोटरसाइकलसहित एक युवकलाई बगाएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार राति करिब १०ः२० बजे खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको थियो। मोटरसाइकलको पछाडि सवार पुतलीबजार नगरपालिका–३ पुतलीखेतका १७ वर्षीय समिप शाही भने सकुशल रहेका छन्।
मोटरसाइकल चालक पुतलीबजार नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगर भने मोटरसाइकलसहित खोलाले बगाएपछि हालसम्म फेला परेका छैनन्।
प्रहरीका अनुसार बगाएको मोटरसाइकल ग ११ प ८१८३ नम्बरको रहेको खुलेको छ। शुक्रबार बिहान ६ः४५ बजे घटनास्थलबाट करिब १०० मिटर तल खोलामा उक्त मोटरसाइकल फेला परेको थियो। मोटरसाइकल निकालिए पनि मगर अझै बेपत्ता छन्।
बेपत्ता मगरको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।











