जनकपुरधाम । सांसद विकास कोष र प्रदेश सरकारले कार्यान्वयन गरेका योजनाको भुक्तानी नदिएको विरोधमा शुक्रबार सांसदहरुले प्रदेश २ को प्रदेशसभा पुनः अवरुद्ध गरेका छन् । यसअघि भदौ २२ गतेको प्रदेशसभा बैठक पनि रकम निकासा नभएको भन्दै अवरुद्व गरेका थिए ।
योजना सम्पन्न भइसकेको लामो समय भइसक्दा पनि भुक्तानी नदिएको भन्दै उनीहरुले शुक्रबार दोस्रो पटक संसद अवरुद्ध गरेका हुन् । संसद अवरुद्ध गर्नेमा सत्तारुढ र विपक्षी दुबैथरी दल रहेका छन् । शुक्रबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक पनि सांसदहरुले सुरुमै अवरुद्ध गरे ।
सभामुख सरोजकुमार यादवले रकम निकासाबारे शुक्रबारको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि सांसदहरुले केहीबेर बैठक चल्न दिएका पनि सरकारले आजै जवाफ नदिएपछि सांसदहरुले पुनः बैठक अवरुद्व गरेका हुन् । बैैठक आगामी २९ गतेको लागि बोलाइएको छ ।