१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुटले पार्टीलाई खोक्रो बनायो, यसलाई अन्त्य गरौं: अध्यक्ष प्रचण्ड



अ+ अ-

इलाम – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। गुटले पार्टीलाई खोक्रो बनाउने भन्दै उनले त्यसको अन्त्य गर्नु अहिलेको प्रमुख चुनौती भएको पनि बताए।

‘अब कसैले शंका–उपशंकाले कसैलाई हेर्ने होइन, गुट–उपगुट अन्त्य गरी पार्टी एकतालाई बलियो बनाउनुपर्छ,’ सदरमुकाममा आयोजित जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणमा शुक्रबार उनले भने, ‘पार्टीमा पनि अहिले एकता सुदृढ गर्नेबारे गम्भीर समिक्षा चलिरहेको छ, पार्टीमा गुटबन्दी सबैभन्दा घातक हुन्छ।’ उनले गुट–अनुशासन छाडेर पार्टी अनुशासन स्थापित गर्नु आवश्यक भएको भन्दै गुटले पार्टीलाई भित्रभित्रै कमजोर बनाउने र सामूहिक तागत गिराउने बताए।

आफ्नै पार्टीका शीर्ष नेताबीच सार्वजनिक रूपमा भइरहेका घोचपेचलाई चाहिँ उनले ‘संग्लिने प्रक्रिया’को संज्ञा दिए। ‘कहिलेकाहीं हामीबीच भइरहेको घोचपेच आफू–आफूबीच धोइपखाली गरिएको हो,’ पार्टी वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई ‘साक्षी’ राख्दै उनले भने, ‘आफूलाई सफा गर्दा भित्रको मैला त बाहिर आउँछ नै। तर, आउँदा केही बिग्रिहाल्दैन। त्यो पार्टी बन्ने प्रक्रिया हो।’ नेकपा (एमाले) र नेकपा (माओवादी)बीचको पार्टी एकता क्षणिक वा तत्कालिक नभई लामो समयदेखिको प्रयासपछि भएकाले एकतालाई हल्काफुल्का नलिन उनले पार्टी कार्यकर्तालाई सचेत गराए।

‘मैले नेकपा मालेका तत्कालिन महासचिव मदन भण्डारीसँग पनि पार्टी एकताको विषयमा छलफल गर्ने कार्यक्रम तय गरेको थिएँ तर उहाँको निधन भएकाले सम्भव भएन,’ उनले भने, ‘एमालेका तत्कालिन महासचिव माधवकुमार नेपालसँग पनि एकताको प्रस्ताव राखेको थिएँ तर त्यतिबेला मिल्न सकिएन।’ उनले शान्तिपूर्ण बाटोबाट देशमा समाजवाद स्थापित गर्न नेकपा प्रयासरत रहेको बताए।

वरिष्ठ नेता खनालले जनताको सेवा गर्नु नै पार्टीको स्वार्थ भएको भन्दै दत्तचित्त भएर पार्टीको काममा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिए। ‘कम्युनिट पार्टीको नेतृत्व नभएसम्म देशमा समाजवाद स्थापना हुनै सक्दैन,’ उनले भने, ‘समाजवादबिना समृद्ध नेपाल र सुखी नेपालीको नारा झन् कसरी सम्भव छ र !’ खनालले समाजवाद स्थापनाका लागि चुनावीप्रक्रिया परिवर्तन गरी मितव्ययी बनाउनुपर्ने, सीमा समस्या समाधान गर्नुपर्ने, आत्मनिर्भर हुनुपर्ने, सुशासन कायम गर्नुपर्ने, विकासका काम तीव्र र व्यापक बनाउनुपर्ने, भाषा–संस्कृति संरक्षण गर्नुपर्ने र तीनखम्बे अर्थनीति अंगीकार गर्नुपर्ने सुझाए।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले अहिलेको नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै सरकार अघि बढेकाले कसैले सरकार ‘अधिनायकवादी’ भन्नुको अर्थ नरहेको बताए। ‘जनताले जनताका लागि पहिलोपटक बनाएको संविधानअनुसार देश चलेको छ, सरकार पनि त्यही संविधानअनुसार चलेको छ, सरकार कसरी अधिनायकवादी बन्नसक्छ ?’ उनले भने, ‘अब राजनीतिक आन्दोलन गर्नुपर्दैन, समृद्धिको यात्रामा देश गइसक्यो, दुई वर्षभित्र देशमा धेरै अपुरा काम सम्पन्न हुनेछन्।’

शनिबारसम्म चल्ने जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा स्थायी कमिटी सदस्यहरू वेदुराम भुसाल, देवेन्द्र पौडेल, केन्द्रीय सदस्य विजय पौडेल र १ नम्बर प्रदेश अध्यक्ष देवराज घिमिरेले नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदैछन्। स्थायी कमिटी सदस्य पौडेलले ‘नेपालको कम्युनिस्ट आन्दोलन ः विगत र वर्तमान’ तथा भुसालले ‘कम्युनिस्ट दर्शन र सिद्धान्त’ विषयमा प्रशिक्षण दिनेछन्। केन्द्रीय सदस्य पौडेलले ‘नेपालको अर्थराजनीति’ र प्रदेश कमिटी अध्यक्ष घिमिरेले ‘पार्टी र सरकारबीचको अन्तरसम्बन्ध’ विषयमा प्रशिक्षण दिने तय भएको नेकपा जिल्ला कमिटीले जनाएको छ। प्रशिक्षणमा जिल्लादेखि वडा तहसम्मका ५ सयभन्दा बढी नेता–कार्यकर्ता सहभागी छन्। (नागरिक दैनिक)