काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार योजनाको नतिजा सार्वजनिक गरेको छ।
विभागका अनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ। विभागले विजेताको पहिचान प्रक्रिया भने बाँकी रहेको जनाएको छ।
यसैगरी, अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँका दरले उपहार जितेका छन्। बम्पर उपहार विजेताले साउन ७ गते उक्त खरिद गरेको विभागले जनाएको छ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभागले उपहार विजेताबारे जानकारी सार्वजनिक गरेको हो।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत करदाता प्रोत्साहन कार्यक्रम सुरु गरेको हो। उपभोक्तामा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने, कर प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउने तथा राजस्व संकलनलाई थप सुदृढ गर्ने उद्देश्यले यो योजना कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ।
यस कार्यक्रमअन्तर्गत हरेक १५ दिनमा १५ जना उपभोक्तालाई जनही १ लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार प्रदान गरिने व्यवस्था रहेको छ। शुक्रबार सार्वजनिक गरिएको नतिजा यस योजनाअन्तर्गतको पहिलो घोषणा हो।











