काठमाडाैँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले आन्तरिक शान्ति सुरक्षाको मुख्य जिम्मेवारी नेपाल प्रहरीकै भएको उल्लेख गर्दै कानून निर्माण गर्दा क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन हुनुपर्नेमा जोड दिनुभएको छ ।
बिहीवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहनुभएकी अर्यालले विद्यमान कानून र शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप आन्तरिक सुरक्षा कायम गर्ने प्राथमिक दायित्व नेपाल प्रहरीको भएको स्पष्ट पार्नुभयो । उहाँले अपराध अनुसन्धान र पहिचानका क्षेत्रमा नेपाल प्रहरीको कार्यसम्पादन विश्वस्तरमै प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरी यस कार्यमा सबल र क्रियाशील रहेको बताउनु भयो ।
विभिन्न निकायहरूबीच कार्यक्षेत्रमा देखिन सक्ने दोहोरोपना र त्यसले निम्त्याउन सक्ने शक्तिको टकरावप्रति सचेत गराउनु भयो । उपनेता अर्यालले कानुन निर्माणका क्रममा अधिकार र जिम्मेवारीको स्पष्ट बाँडफाँट नगरिए त्यसको नतिजा स्वरूप द्वन्द्व सिर्जना हुने खतरा औँल्याउनु भयो ।
कानूनको सुक्ष्म अध्ययन गरी अधिकार र कर्तव्यको स्पष्ट व्यवस्था नगरे आगामी दिनमा दुर्भाग्यपूर्ण परिस्थितिको सामना गर्नुपर्ने हुन सक्नेतर्फ उहाँले समितिको ध्यानाकर्षण गराउनुभएको छ । बिहीवारको बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल भएको हो ।–न्युज एजेन्सी नेपाल










