काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले मधेशमा हुने आन्दोलनका क्रममा बल प्रयोगको शैलीबारे सरकारसँग गम्भीर प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मधेशमा कुनै घटना वा आन्दोलन हुनासाथ गोली चलाउने प्रवृत्ति दोहोरिने गरेको उल्लेख गर्दै प्रहरीलाई पर्याप्त गैरघातक सुरक्षा सामग्री उपलब्ध गराउन सरकारसँग माग गरे।
उनले प्रहरीलाई ढुंगामुढाको सामना गर्नुपर्ने अवस्था आए पनि आवश्यक मात्रामा लाठी र अश्रुग्यास उपलब्ध नभएको दाबी गरे। त्यसैले प्रहरी प्रत्यक्ष रूपमा गोली प्रयोग गर्न बाध्य हुने अवस्था सिर्जना भएको उनको भनाइ थियो।
सांसद सिंहले सरकारले प्रहरीलाई गैरघातक साधनस्रोतको पर्याप्त व्यवस्था गर्नुपर्नेमा जोड दिँदै मधेशलाई पछाडि पार्ने, गरिब बनाउने र सामान्य तनावमा पनि गोली चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।
उनले मधेशका नागरिकले लामो समयदेखि विभेद र पीडा सहँदै आएको उल्लेख गर्दै अब त्यस्तो व्यवहार दोहोरिन नहुने धारणा पनि व्यक्त गरे।











