काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको किसान आन्दोलनको विरासतलाई निरन्तरता दिन आग्रह गरेका छन्।
अमात्य र पन्तको स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जली सन्देश जारी गर्दै अध्यक्ष ओलीले दुवै नेताको योगदानको स्मरण गर्दै उनीहरूले देखाएको बाटोमा अघि बढ्न आग्रह गरेका हुन्।
ओलीले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले नेपालमा किसान आन्दोलनलाई वैचारिक तथा संगठनात्मक रूपमा सुदृढ बनाउन महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन्। सामन्तवादी भूस्वामित्वको समयमा अमात्यले ‘जसको जोत, उसको पोत’ भन्ने नारामार्फत किसानलाई आफ्नो हक र अधिकारका लागि संगठित हुन प्रेरित गरेको ओलीले बताएका छन्।
निरंकुशताविरुद्धको संघर्ष तथा वामपन्थी आन्दोलनमा अमात्यले निर्वाह गरेको भूमिका नेपाली राजनीतिक इतिहासमा सधैं स्मरणीय रहने ओलीको भनाइ छ।
त्यस्तै, ओलीले अमर शहीद भीमदत्त पन्तलाई सामन्तवादी शोषणविरुद्धको संघर्षका निडर तथा क्रान्तिकारी योद्धाका रूपमा स्मरण गरेका छन्। ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने नाराका साथ पन्तले सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उत्पीडित किसानको पक्षमा आन्दोलनको नेतृत्व गरेको उनले उल्लेख गरेका छन्।
२०१० साल साउन १७ गते भीमदत्त पन्तलाई गोली हानी हत्या गरिएको र किसान आन्दोलनलाई दबाउने उद्देश्यले उनको शिर छिनाएर प्रदर्शन गरिएको घटनालाई नेपाली किसान आन्दोलनको इतिहासको अत्यन्त दुःखद अध्यायका रूपमा स्मरण गरिने ओलीले बताएका छन्।
दुवै नेताको त्याग, समर्पण र क्रान्तिकारी विचार नेपाली समाजका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै ओलीले लोकतान्त्रिक प्रणालीको रक्षा, सामाजिक न्याय, समानता र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।
अध्यक्ष ओलीले किसान आन्दोलनका अमर शहीद भीमदत्त पन्त र नेता तुलसीलाल अमात्यप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उनीहरूको योगदान नेपाली राजनीतिक तथा किसान आन्दोलनको इतिहासमा सदैव सम्मानपूर्वक स्मरण भइरहने बताएका छन्।











