काठमाडौं : सभामुख डीपी अर्यालले संसदीय समितिका सभापति तथा सचिवहरूसँग छलफल गर्दै समितिको कामकारबाहीलाई थप प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउन निर्देशन दिनुभएको छ।
छलफलपछि सभामुख अर्यालले समितिहरूले अवलोकन तथा अनुगमन स्पष्ट कार्यविधि र कार्ययोजनाका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले कानुन र विधिको पूर्ण पालना गर्दै तथ्यमा आधारित अनुगमन गर्न आग्रह गर्नुभयो।
सरकारलाई सुझाव तथा सल्लाह दिँदा समितिहरूले आफ्नो संवैधानिक तथा कानुनी क्षेत्राधिकारभित्र रहेर तथ्यपरक, व्यावहारिक र कार्यान्वयनयोग्य सुझाव दिनुपर्ने उहाँको भनाइ थियो।
सभामुख अर्यालले विधेयकहरूलाई लामो समयसम्म समितिमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गर्दै समयमै टुंगोमा पुर्याउन आग्रह गर्नुभयो। साथै, विधेयकमाथि पर्याप्त, गहन र गुणस्तरीय छलफल गरी आवश्यक परिमार्जनसहित प्रतिनिधिसभामा पेश गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
छलफलमा संसदीय समितिहरूलाई प्रविधिमैत्री, स्रोत–साधन सम्पन्न र थप सक्षम बनाउने विषयमा समेत विचारविमर्श भएको थियो। समितिहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन आवश्यक सुधारका उपायबारे सभापति तथा सचिवहरूले पनि आफ्ना सुझाव प्रस्तुत गरेका थिए।











