चिनियाँ पुरुषले सन्तान जन्माउनैका लागि नेपाली युवतीहरूलाई विवाहका नाममा खरिद गर्ने र बच्चा जन्मेपछि हिंसा गर्ने गरेको पाइएको छ ।
तनहुँकी सस्मिता (परिवर्तित नाम) लाई १९ वर्षको उमेरमा विवाहको प्रस्ताव आयो । छिमेकी दिदी (सस्मिताले नाम खुलाउन नचाहेको) ले ल्याएका वर थिए— चिनियाँ नागरिक ।
चीनमा गएर विवाह गर्नेे, उतै सुखसुविधामा बस्ने मात्र होइन, विवाह गरेपछि बाआमालाई खर्च दिने, घुमाउन चीन लैजाने आदिइत्यादि लोभले उनी विवाहका लागि तयार भइन् । 
हुनेवाला श्रीमान्ले पासपोर्ट, भिसा, हवाई टिकट सबै खर्च मात्र बेहोरेका थिएनन्, सस्मिता चीन उड्ने तयारी चल्दै गर्दा तिनै दिदीमार्फत बाआमाको हातमा २ लाख रुपैयाँ राखिदिएका थिए ।
सस्मिताकी स्कुले साथी विवाह गरेर चीनतिरै छिन् । सबै फिक्स भएपछि उनले साथीलाई विवाहका लागि चीन आउन लागेको सुनाइन् । “बुझेर आइज, कोही त नराम्रो पर्छ, दुःख पाउलिस्,” चीन उड्ने अघिल्लो दिन साथीको म्यासेजले सस्मितालाई झस्कायो ।
साथीले आफूलाई इच्छा नहुँदा नहुँदै श्रीमान् र उनको परिवारले बच्चा पाउन दबाब दिएको र बच्चा जन्माएपछि हेला गरेको बताएपछि सस्मिताको मन खिन्न भयो । सबै तयार भइसकेपछि उनलाई अन्तिम समयमा जान्न भन्न मन पनि लागेन । “उता भएको मेरै क्लासमेटले सबै बुझेर आइज भनिन्,” सस्मिताले सुनाइन्, “चीन जाने सबै तयारी भएपछि धोका दिएर जान्न भन्न मन लागेन, पैसा खाएर भागे जस्तो हुन्छ भनेर ।”
तर, सस्मितालाई चीन जानुअघि साथीले जे कुरामा सचेत गराएकी थिइन्, चीनमा त्यस्तै भयो । उनीमाथि श्रीमान्को परिवारबाट कुटपिट त भएन । तर अरू जे भयो, त्यो सबै उनको इच्छाविपरीत भयो । उनी नचाहँदा नचाहँदै गर्भवती भइन् र छोरी जन्माइन् । “हुन त विवाहपछि गर्भवती हुनु सामान्य हो, महिलालाई आमा बन्न रहरै हुन्छ, तर म रहरले होइन, करले आमा बन्नु पर्यो,” उनले सुनाइन् ।
बच्चा जन्माएपछि सस्मितालाई परिवारले बेवास्ता गरे । त्यसपछि उनले छोरी लिएर नेपाल फर्कन चाहिन् । तर दिएनन् । उनीहरूले छोरीलाई खोेसेर राखेको र आफू एक्लै नेपाल फर्केको सस्मिता बताउँछिन् ।
उनको भोगाइले चिनियाँ पुरुषहरूले सन्तानकै लागि नेपाली युवतीहरूसँग विवाह गर्ने र बच्चा हुर्केपछि महिलामाथि हिंसा गर्ने गरेको पुष्टि हुन्छ । चीनमा एक सन्तान नीतिले लैंगिक अनुपात बिग्रिएको छ । समयमै कन्या नपाएपछि विवाहयोग्य पुरुषको उमेर घर्किँदै जान्छ । अन्तिममा त्यस्ता पुरुषले सन्तानकै लागि विदेशी महिलासँग विवाह गर्छन् । उनीहरूका लागि नेपाली कन्या खोज्न नेपाली र चिनियाँ दलालहरू खटिएका छन् । जसले विवाहका नाममा नेपाली युवतीलाई मानवतस्करी गरेर चीनमा बेचबिखन गर्छन् ।
माइग्रेसन पोलिसी इन्स्टिच्युटको ‘चाइना डिमान्ड फर ब्राइड ड्रज वुमेन फ्रम एक्रोस साउथइस्ट एसिया समटाइम्स बाइ फोर्स’ शीर्षकको अनुसन्धानमूलक आलेखमा चिनियाँ पुरुषहरूले महिलाहरूलाई विवाहको नाममा किनेर बच्चा जन्माउन बाध्य पारेको उल्लेख छ ।
यो आलेख दक्षिण–पूर्वी एसियाको म्यान्मार, कम्बोडियामा केन्द्रित भए पनि हामीले भेटेका नेपाली महिलाहरू जसले चिनियाँ पुरुषसँग विवाह गरेका थिए, उनीहरूकोे अनुभव योभन्दा फरक छैन । विवाहका बहानामा बेचिएर धर्म, संस्कृति तथा रहनसहन नै नमिल्ने चीन पुगेका नेपाली युवतीको बिचल्ली नै भएको छ । राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखनविरुद्धको अधिकारसम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८२ मा नक्कली विवाह गरी चीनमा नेपाली युवतीको बेचबिखन हुने गरेको उल्लेख छ ।

तनहुँकी सस्मिताले भोगेको अनुभवले उनी बच्चा पाउनकै लागि बेचिएकी थिइन् भन्ने पुष्टि हुन्छ । चीनमा रहेकी साथीले सचेत गराएपछि सस्मिताले चिनियाँ केटा खोजिदिने छिमेकी दिदीसमक्ष प्रस्ताव राखेकी थिइन्– केटा मन नपरे फर्किएर आउँछु । दिदीले हुन्छ भनेपछि उनी केही परे फर्किएर आइहाल्छु भन्ने आँटले चीन उडिन् ।
चीन पुगेपछि उनी विवाह गर्ने केटाको घरमा जान पाइनन् । उनलाई विहेका लागि केटा खोजिदिने छिमेकी दिँदैसँगै अर्का चिनियाँ पनि थिए ।
उनलाई तिनै चिनियाँले आफ्नो घरमा लगेर राखे । विवाह गर्ने केटाले ती चिनियाँको खातामा पैसा पठाएपछि मात्र आफूले हुनेवाला श्रीमान् भेटेको सस्मिता बताउँछिन् ।
उनलाई केटाको उमेर २९ वर्ष भनेका थिए । तर भेटेपछि थाहा भयो— ३५ नाघिसकेका रहेछन् । उनले आफूभन्दा धेरै जेठो केटासँग विवाह गर्दिनँ, नेपाल फर्किन्छु भनिन् । चिनियाँ दलालले २० लाख खर्च भएको भन्दै त्यो रकम दिए मात्र विवाह नगरी नेपाल जान पाउने बताएपछि उनी छाँगाबाट खसेजस्तै भइन् ।
“मलाई केटा मन परेन फर्किन्छु भनेको त तेरो लागि २० लाख खर्च भएको छ, त्यो पैसा दे भन्छ,” उनले भनिन्, “त्यत्रो पैसा कहाँबाट दिने ?” आर्थिक स्थिति राम्रो नभएको उनको परिवारका लागि २० लाख रुपैयाँ ठूलो रकम हो । त्यसैले आफूले सम्झौताको बाटो रोजेको उनी बताउँछिन् ।
भोलिका दिनमा राम्रो होला भन्ने विश्वासका साथ चिनियाँ घरमा भित्रिएकी उनको जीवनमा सोचेअनुरूप केही भएन । घरको वातावरण बाहिरबाट हेर्दा असहज थिएन । तर, उनलाई केही पनि सहज भइरहेको थिएन ।
सस्मिताले तत्काल बच्चा नपाउने योजनाका साथ नेपालबाट नै गर्भनिरोधक औषधि लिएर गएकी थिइन् । श्रीमान्ले औषधि किन खाइस् भनेर प्रश्न गर्थे । पछि श्रीमान्ले नै औषधि लुकाइदिएको उनी बताउँछिन् ।
“उनीहरूलाई बच्चा चाहिन्छ, बच्चा पाउनुपर्छ, एक/दुई वर्ष भित्रै भनेको भए त म जाँदैन थिएँ,” उनी भन्छिन्, “बिहे गरेपछि विस्तारै घर परिवार चिनिन्छ, जान्ने बुझ्ने भइन्छ र काम गर्न जान पाइन्छ, अनि आफ्नै खुट्टामा उभिन सकिन्छ भनेर पोे गएको हो ।” उनलाई छिमेकी दिदीले यही आश्वासन दिएर विवाहका लागि फकाएकी थिइन् ।
तर आश्वासनअनुसारको व्यवहार नभएपछि उनले फर्कनका लागि पटक–पटक प्रयास गरिन् । उनले नेपाली दूतावासमा पनि खबर गरेकी थिइन् । त्यसपछि चिनियाँ प्रहरीले आएर हेरेको तर केही नगरेको सस्मिता बताउँछिन् । “पुलिस पनि आएको थियो एकपटक एम्बेसीले पठाएर,” उनले भनिन्, “तिमी नेपाल जाने हो भनेर सोध्यो । अँ भनेँ । पुलिसले त सामान्य मानेछ कि क्या हो त्यत्तिकै गइदियो ।”
त्यतिबेला उनी गर्भवती थिइन् । सुरुमा गर्भपात गराउने सोचेकी उनी पछि गर्भको बच्चाको मायाले र बच्चा भएपछि राम्रो होला भन्ने आशामा त्यो सोच त्यागेको बताउँछिन् ।
उनले सुत्केरी हुने बेलामा नेपालबाट आमाबुबा बोलाएकी थिइन् । त्यसको खर्च सबै श्रीमान्ले बेहोरे । सुत्केरी उनी बच्चासहित आमाबुबासँग नेपाल फर्कन चाहन्थिन् । उनले श्रीमान्सँग यो चाहना राखेपछि त चिनियाँहरूले बच्चा नै लुकाएको सस्मिता बताउँछिन् । “अलिकति डराउने के बच्चालाई नेपाल लैजान्छ भनेर,” उनले भनिन् । यो सबै काम सासु र श्रीमान्की दिदीले गरेका थिए ।
पछि उनीहरूसँगै आफ्ना बुबाआमाको झगडा परेको र आफू एक महिनाकी छोरीलाई चीनमै छाडेर फर्केको उनले बताइन् । “श्रीमान्को परिवारले बच्चालाई लुकाइदिए, घरमा नै ल्याएनन्,” गत मंसिरमा उनले भनिन्, “नेपाल फर्किने दिनसम्म पनि बच्चालाई घरमा नल्याएपछि म छोरी छोडेर नेपाल आएँ ।”
अहिले भने उनी चीन फर्केकी छन् । गत माघमा चीन उड्नुअघि उनले हामीलाई फोन गरेर ‘श्रीमान्ले पनि बोलाएको र छोरीको यादले धेरै सताएकाले जान लागेको’ बताएकी थिइन् ।
उनी छोरा बोकेर आइन्, चिनियाँ श्रीमान् पछिपछि आए
पुस २२, २०८२ को बिहान हामी पुग्दा मलिन अनुहार बनाउँदै काखमा बिमार छोरा लिएर आँगनछेउमा बसिरहेकी थिइन् प्रभिता (परिवर्तित नाम) । २०७९ सालमा १९ वर्षको उमेरमा हिन्दु संस्कृतिअनुसार चिनियाँसँग विवाह गरेकी उनी छोरा जन्मेपछि नेपाल आएकी हुन् । “चीनमा श्रीमान् र उनको परिवारले राम्रो व्यवहार गरेनन्,” पोहोर वैशाखमा नेपाल फर्केकी प्रभिता भन्छिन्, “त्यसैले म त बाबु च्यापेर नेपाल आएँ ।” उनी नेपाल आउने भएपछि श्रीमान् पनि उनीसँगै पछि लागेर नेपाल आइपुगेका थिए ।
हामी उनका श्रीमान्लाई पनि भेट्ने योजनासहित उनको घर पुगेका थियौँ । तर उनका श्रीमान् त्यो बिहान झगडा गरेर घरबाट निस्किएछन् । “बेलाबेला झगडा गरेर हिँडिरहन्छन् श्रीमान्,” घर झगडाको कारण खुलाउँदै उनले भनिन्, “उसलाई नेपाल आउने मन थिएन, म काखमा भएको छोरा नै बोकेर हिँड्ने भएपछि पछि लागेर आएका हुन् ।”
उनलाई घर छेउको छिमेकीले चिनियाँसँग विवाह गराइदिएका हुन् । छिमेकीले फोटोमा केटा देखाएका थिए । उनले त्यो प्रस्ताव स्वीकार गरेपछि छिमेकीले विवाहका लाग चिनियाँ वरलाई नेपाल बोलाए । तर बेहुला बनेर आउने फोटोमा देखाएका व्यक्ति थिएनन् । उनी १९ वर्षकी थिइन् भने केटा २९ वर्षका । तैपनि उनी बिहे गर्न तयार भइन् । २०७९ सालमा हिन्दु संस्कृतिअनुसार नेपालमै विवाह गरेर एक महिनापछि उनी चीन गइन् । चीन जाँदा उनी गर्भवती भइसकेकी थिइन् ।
प्रभिताले चीन पुगेपछि श्रीमान्को खराब व्यवहारको सामना गर्नुपर्यो । श्रीमान्ले उनलाई कुटपिट गर्न थाले । उनलाई घरमा थुनेर श्रीमान् काममा जान्थे ।
बच्चा जन्माइसकेपछि उनीमाथि हिंसा बढ्न थाल्यो । “लात्ताले हानेको छ, टाउकोमा पिट्यो,” उनले सुनाइन्, “एकपटक बाबु सानै हुँदा उसले बाबुलाई खोसेर मलाई पिटेको थियो । घाँटीमा समातेर घरबाट निकाल्ने भनेर गेटसम्म पुर्याएको थियो ।”
यो सहनै नसेपछि काखे छोरा बोकेर आफू नेपाल आएको प्रभिता सुनाउँछिन् । “राम्रो गर्छ भने त विवाह गरेर गएको हो,” उनी रोइन्, “म यहाँबाट जुन कपडामा गएको थिएँ, त्यही कपडामा फिर्ता आएको हो ।”
नेपाल फर्किएपछि पनि प्रभितामाथि ती चिनियाँलले कुटपिट गर्न छोडेका छैनन् । परिवारकै अगाडि उनले प्रभितामाथि हिंसा गर्छन् । उनी साथीको घरमा पुगे, सोही स्थान पुगेर दुर्व्यवहार गर्छन् । चीन हुँदासमेत परिवारसँग सम्पर्कमा बस्न दिँदैनथे । परिवारसँग बोले फोन नै फुटाउने गर्थे ।
उनका श्रीमान्ले प्रभितालाई मात्र होइन् । छोरालाई पनि जोखिममा पारेका छन् । छोरा बिरामी हुँदा औषधि उपचारमा वास्ता गर्दैनन् । ५ महिनाको छोरालाई ज्वरो आएर रुँदा उनले पिटेका छन् ।
“बच्चालाई एकपटक ज्वरो आउँदा रोएको रोयै गरेको थियो । बच्चालाई पिटेको । पाँच महिना हुँदा । बिरामी हुँदा रोयो, बमिट गर्यो भने पनि रिसाउने । ठूलो मान्छेको औषधि खुवाइदिने । आफ्नो औषधि घोलेर खुवाइदिने ट्याबलेट पनि झोल पनि,” उनले भनिन् ।
हामीले भेटेको अघिल्लो दिन पनि उनले छोरालाई वयस्कले खाने औषधि खुवाउन कोसिस गरेका थिए । प्रभिताकी आमाले देखेपछि खोसेकी थिइन् । आफू र छोरामाथि भइरहेको हिंसापछि उनी अन्योलमा छिन् । कानुनी उपचार लिन पछि हटिरहेकी छन् । भन्छिन्, “सम्बन्ध जोडिसक्यो, टुटाउने मनाशयमा छैन ।”
गत पुसमा हामीसँग कुराकानी गर्दा उनले श्रीमान्ले चीन फर्काउन चाहिरहेको बताएकी थिइन् । उनी अहिले भने उनै श्रीमान्सँग चीन फर्किएकी छन् । आफूमाथि अहिले पनि पहिलाको जस्तै व्यवहार भइरहेको उनले विच्याटमार्फतको कुराकानीमा बताइन् ।
‘ब्राइड ट्राफिकिङ टु चाइना’
चीनमा नेपाली युवती मात्र दुलही बनेर जाँदैनन् । वर्षौँदेखि चीनमा अन्य देशबाट समेत बेहुलीको बेचबिखन भइरहेको छ । बरु नेपाली युवती त पछिल्लो समय यसरी बेचबिखनमा पर्न थालेका हुन् । माइग्रेसन पोलिसी इन्स्टिच्युटको ‘चाइना डिमान्ड फर ब्राइड ड्रज वुमेन फ्रम एक्रोस साउथइस्ट एसिया समटाइम्स बाइ फोर्स’ अनुसन्धानमूलक आलेखमा म्यानमार जस्ता देशबाट चीनमा हजारौँको संख्यामा युवती बेचिएका छन् ।
सन् २०२४ मा प्रकाशित यो आलेखले उल्लेख गरेअनुसार २०१३ र २०१७ को बीचमा, म्यानमारको युद्धग्रस्त काचिन र उत्तरी शान राज्यहरूबाट ७ हजार ४ सयभन्दा बढी महिलालाई चीनमा बेचिएको थियो । जसमध्ये ५ हजारभन्दा बढीलाई बच्चा जन्माउन बाध्य पारिएको थियो ।
यस्तै, भियतनामी सरकारी तथ्यांकले सन् २०१२ र २०१७ को बीचमा ३ हजारभन्दा बढी भियतनामी युवती बेचबिखनमा परेका थिए, जसमध्ये धेरै चीनमा बेचिएका छन् । सो आलेखका अनुसार कोरोना महामारीपछि यी संख्यामा थप वृद्धि भएको छ ।
लैंगिक अनुपातको असर
माइग्रेसन पोलिसीले प्रकाशित गरेको प्रतिवेदन र हामीले कुराकानी गरेका युवतीसँगको कुराकानीबाट चीनमा नेपाली युवती बच्चा जन्माउने प्रयोजनकै लागि पनि बेचिएका छन् भन्ने देखिन्छ ।
चीनमा त्यसरी किन छिमेकी देशका युवती मानव तस्करी र बेचबिखनमा परिरहेका छन् भन्ने कारण बुझ्न चिनियाँ सरकारले सन् १९७९ मा लागू गरेको एक सन्तान नीतिलाई हेर्नुपर्छ ।
त्यो नीतिले चीनको लैंगिक अनुपातमा असन्तुलन निम्त्यायो । सन् २०२१ को राष्ट्रिय जनगणनाले यो अनुपात प्रस्ट्याउँछ । जनगणनाअनुसार चीनमा ५१.२४ प्रतिशत पुरुष र ४८.७६ प्रतिशत महिला छन् ।
सोही वर्ष ब्रिजवाटर स्टेट युनिभर्सिटीले अन्तर्राष्ट्रिय महिला अध्ययन जर्नलमा प्रकाशित गरेको ‘अ युनिक ट्रेन्ड अफ ह्युम्यान ट्राफिकिङ फ्रम साउथ-इस्ट एसिया टु चाइना’ मा पनि लैंगिक अनुपातले दुलहीको अभाव रहेको उल्लेख छ ।
‘काठमाडौंमा विवाहको सञ्जाल (र्याकेट) कसरी सञ्चालन भइरहेको छ, युवतीहरूलाई फसाउने शैली कस्तो छ, अन्य निजी तथा सरकारी क्षेत्रसँग यसको साँठगाँठ कस्तो छ र यसबाट हुने आर्थिक लाभको विषयमा थप विस्तृत अनुसन्धानको आवश्यकता देखिन्छ ।’
विशेषगरी ग्रामीण क्षेत्रका धेरै चिनियाँ विवाहित जोडीले छोरा चाहने गरेका छन् । पितृ सत्तात्मक परम्पराका कारणले गर्दा पुरानो चिनियाँ पुस्ताले छोरा खोज्दा लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने क्रम बढ्यो । जनसंख्यामा पुरुष र महिलाबीचको अन्तर देखिएपछि चिनियाँ पुरुषले विदेशी दुलही खोज्न थाले ।
अन्तर्राष्ट्रिय महिला अध्ययन जर्नलमा प्रकाशित आलेखमा यसलाई मानव बेचबिखनको नयाँ स्वरूपको रूपमा चित्रण गर्दै ‘डेमी ब्राइड ट्राफिकिङ’ को नाम दिएको छ । ‘डेमी ब्राइड ट्राफिकिङ’ भियतनाम, कम्बोडिया, म्यानमारबाट मात्र नभई नेपालबाट पनि भइरहेको छ ।
यो जर्नलमा केही घटना विवरण पनि समावेश छ । जसमा लागूपदार्थ खुवाएर चीनमा २ हजार युयान (४४ हजार नेपाली रुपैयाँ) मा बेचिएकी भियतनामी युवतीले चिनियाँ नागरिकसँग नै घरजम गरेकी छन् । बेचिएको थाहा पाएपछि घर फर्कन चाहेकी भियतनामी युवतीसँग केटाले आफूले खर्च गरेको २ हजार युयान फिर्ता मागेका थिए । तर त्यो रकम नभएपछि उनी उतै बसिन् ।
तर पछि खरिदकर्ताले उनलाई राम्रो व्यवहार गर्न थाले । उनीमाथि कुटपिट वा बन्धक बनाउने कार्य भएन । विवाह भइसकेपछि घरजम गर्नुपर्छ भन्ने भियतनामी परम्परागत पारिवारिक मूल्यले पनि यसमा टेवा पुर्याएको सो जर्नलमा उल्लेख छ ।
मानवअधिकारको प्रतिवेदन र प्रहरी
नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि २०८१/०८२ सम्म चिनियाँ नागरिकसँग विवाहको नाममा आपराधिक गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूको तथ्यांक जम्मा ३१ छ । जसमध्ये १२ जना महिला प्रतिवादी छन् भने १९ जना पुरुष छन् ।
चीनमा विवाह गरी यौनशोषण, चीनमा विवाहको आडमा लैजान खोज्दा पक्राउजस्ता विभिन्न शीर्षक गरी यी अवधिमा १५ जना पक्राउ परेका छन् । जसमध्ये ८ जना पुरुष र ७ जना महिला छन् । यो तथ्यांकमा फरार १६ जना रहेका छन् भने पीडित ८ जना छन् ।
तर, प्रहरीले दिएको तथ्यांकैमा पनि बेमेल देखिन्छ । जस्तो कि कात्तिक २९, २०८२ मा सञ्चारमाध्यममा आएअनुसार अध्यागमन विभागको टोलीले काठमाडौंमा अवैध म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकमा यो विवरण भेटिँदैन ।
यस विषयलाई मानव बेचबिखनविरुद्धको अधिकारसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८२ ले समेत उल्लेख गरेको छ । ‘अभियुक्तहरूमध्ये ३ पुरुष र १ जना महिला थिए जो लामो समयदेखि विभिन्न भिसामा नेपालमा बस्दै आएका थिए । प्रहरीले यी ४ जना चिनियाँ नागरिकसँगै अन्य १४ जना नेपालीलाई पनि पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्तहरूले दुर्गम र गरिबीले आक्रान्त क्षेत्रका युवतीहरूलाई चीनमा राम्रो भविष्यको प्रलोभन देखाई फसाउने गरेको पाइएको थियो,’ आयोगको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले उपलब्ध गराएको आर्थिक वर्ष २०८१/०८२ को विवरणअनुसार यो अवधिमा विवाहको आडमा चीन लैजान खोज्दा पोखरामा ६ जना पक्राउ परेका छन् । यसमा अवैध म्यारिज ब्युरोको सञ्चालन गरेका चिनियाँ नागरिकको पक्राउको तथ्यांक समावेश छैन ।
यसबारे थप बुझ्दा प्रहरीले इमेलमार्फत जवाफ पठाएको छ, “योभन्दा अघिको तथ्यांक अभिलेखमा नभेटिएकोले उपलब्ध गराउन असमर्थ छौँ ।”
प्रहरीको तथ्यांक कमजोरी आयोगको प्रतिवेदनलेसमेत औँल्याएको देखिन्छ । नेपालमा नेपाल प्रहरीमा दर्ता भएका मानव बेचबिखनका कसुर वा मुद्दाहरूको संख्या वास्तविक घटनाहरूको अनुमानित संख्याका तुलनामा निकै कम देखिन्छ र दायर भएका सबै मुद्दाहरूमा अभियोजन (मुद्दा चलाउने कार्य) नहुने उल्लेख गरेको छ । यसबाहेक, दर्ता र अभियोजन भएका मुद्दाहरूको संख्याको प्रवृत्तिमा पनि उतारचढाव रहेको आयोगको भनाइ छ । आयोगले जबरजस्ती विवाहका लागि हुने बेचबिखन प्रहरीको तथ्यांमा समावेश नभएको उल्लेखसमेत गरेको छ ।
‘स्थलगत अध्ययन सर्वेक्षणका क्रममा मानव बेचबिखनका केही उदियमान स्वरूपहरूबारे बाहिर आएका थिए, जसमा आपराधिक क्रियाकलापहरूमा बाध्यकारी संलग्नता (जस्तैः साइबर ठगी र जालसाजीपूर्ण नेटवर्क स्किमहरूमा), सांस्कृतिक कार्यक्रम (जस्तैः “अर्केस्ट्रा“ नृत्य) र जबरजस्ती विवाहका लागि हुने बेचबिखन समावेश छन् । तर, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्राप्त परिमाणात्मक तथ्यांकमा भने शोषणका यी स्वरूपहरू देखिएका छैनन्,’ आयोगको प्रतिवेदनमा उल्लेख छ ।
आयोगले भने बमोजिम पछिल्लो समय मानव बेचबिखनको स्वरूप फेरिएको छ । विवाहमार्फत बेचबिखन भइरहेको छ । तर नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा यस्ता प्रकृतिका उजुरी नै परेका छैनन् । ब्युरोका प्रवक्ता राजन लिम्बूले घटनाबारेमा अनौपचारिक जानकारी पाए पनि ब्युरोमा यस्ता उजुरी ठ्याक्कै नआएको बताए । “यो बिचमा अहिले दर्ता भएको छैन । त्यो हामीले सुनेको हो त्यसको रेकर्ड छैन हामीसँग पहिले केही मुद्दाहरूचाहिँ दर्ता भएको छ । अब यसरी विच्याटमा कम्युनिसकेसन गर्छ यस्तो यस्तो भन्ने सुनेको हो । उजुरी आइपुगेको छैन,” उनले भने ।
शक्ति समूहकी संस्थापक चरीमाया तामाङ ग्रामीण क्षेत्रका र कमजोर आर्थिक अवस्था भएका परिवारका किशोरीहरू चिनियाँसँगको विवाहमा फस्ने गरेको बताउँछिन् । यसमा बेचबिखन मात्र नभएर हिंसा पनि हुने गरेको उनले बताइन् । “सन्तान जन्मायो । उसको सन्तान हुर्कायो । अनि कति जनाले यहाँबाट बिहे गरेर लगेपछि आफूसँग पनि राख्दैनन्,” उनलले भनिन् ।
चरीमायाले विवाहको बहनामा नेपाली युवतीहरूको चीनमा बेचबिखन भइरहेको भन्दै यसलाई रोक्न जनचेतना जगाउनुका साथै गहिरो अनुसन्धान आवश्यक भएको बताइन् ।
मानवअधिकार आयोगले पनि यसमा अनुसन्धान आवश्यक रहेको बताएको छ । ‘काठमाडौंमा विवाहको सञ्जाल (र्याकेट) कसरी सञ्चालन भइरहेको छ, युवतीहरूलाई फसाउने शैली कस्तो छ, अन्य निजी तथा सरकारी क्षेत्रसँग यसको साँठगाँठ कस्तो छ र यसबाट हुने आर्थिक लाभको विषयमा थप विस्तृत अनुसन्धानको आवश्यकता देखिन्छ,’ आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।
यो सामग्री मूलरूपमा www.nimjn.org मा प्रकाशित भएको हो ।










