३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

गुरु किन चाहियो ? 

गुरु किन चाहियो ? 
अ+ अ-

गुरु ज्ञानको प्रतीक हो, जीवनको बाटो हो, प्रगतिको आधार हो, विज्ञानको आभा हो, संस्कारको जरो हो, परम्पराको सन्देशवाहक हो, आमा र बुबाको दर्पण हो । उन्नतिको जगमा गुरुको आशीर्वाद, प्रगतिमा गुरुको ज्ञान हुन्छ । माता, मातृभूमि, मातृभाषा र मातृसंस्कृतिको अस्तित्वलाई गुरुको ज्ञानले बचाउँछ ।

चेलाको चेतना र चिन्तनलाई निरन्तरता दिन गुरु चाहिन्छ । गुरुले शिष्यलाई अन्धकारमा जानबाट रोक्छ । गुरु वर्तमान हो, चेला भविष्य हो, गुरु स्रष्टा हो चेला सृष्टि हो । यसकारण हरेक ज्ञान, विज्ञान, परीक्षणमा गुरु र चेलाको योग जुटेको छ । वंशका संस्कार, शिक्षा आदि अग्रजबाट पुस्तान्तरण हुँदै सन्ततिमा जान्छ ।

हजुरबा र हजुरआमाले बुबाआमालाई, आमा र बुबाले बुहारीछोरीलाई, छोरा र बुहारीले नातिनातिनी र नातिनीबुहारीलाई कुलको दीक्षा दिई गुरुचेलाको परम्परालाई जोगाइरहेका छन् । कुल र मूललाई जोगाउन, शिक्षा र संस्कारलाई बचाउन, इतिहास र इष्टदेवलाई चिनाउन, ईश्वर र इमारतलाई बुझाउन गुरु चाहिन्छ । राजादेखि रंकसम्म, दानवदेखि देवतासम्मले गुरु माने, पूजे त्यहीअनुसार हिडे । देवताले वृहस्पतिलाई, राक्षसले शुक्राचार्यलाई, रामले विश्वामित्रलाई, जनकले याज्ञवल्क्यलाई, सुदामाले सान्दिपनिलाई गुरु बनाए ।

गुरु आज्ञाविना अघि बढ्दा दुर्योधन, बर्बरिक र एकलव्यको हालत हुन्छ । गुरु आगो हो शिष्य सुन हो, शिक्षक डोरी हो विद्यार्थी फूल हो, गुरु चौतारी हो चेला यात्री हो, गुरु शब्द हो, चेला आवाज हो, जीवित र जागरुक हुन गुरुको मार्गदर्शन तथा आशीर्वाद चाहिन्छ । गुरु नहुँदा ज्ञान ओइलिन्छ, संस्कार चाउरिन्छ, धर्म खुम्चिन्छ, परम्परा लर्खराउँछ, सीप सुक्छ, इतिहास हराउँछ, अनुभव अस्ताउँछ ।

गुरुको ज्ञान र अनुभव चेलाका लागि सञ्जीवनीबुटी हो जसबाट वेद मौलाउँछ, विज्ञान बुझिन्छ, ब्रह्माण्ड देखिन्छ, विरासदमाथि गौरव लाग्छ, जीवनको बाटो, जन्मेको माटो, आत्माको अक्षर, जगत्को जगलाई चिनाउने हुँदा गुरुको पूजन र सन्ततिसहित गुरुपूर्णिमा मनाइन्छ । गुरुपूर्णिमाकै दिन वेदव्यासको चिन्तन गरेर अक्षर र आत्माको उपासना गर्न सिकाइन्छ । प्रात: स्मरणीय योगीराज नरहपुरिनाथ महाराजाका अनुसार वेदव्यास तनहुँजिल्लाको दमौलीस्थित मादी र सेतीको दोभानमा जन्मिएकाले गुरुपूर्णिमा मनाउने परम्परा यही माटोबाट शुरु भयो ।

गुरु यदि एक योजननजिकै हुनुहुन्छ दैनिक अन्यथा गुरुपूर्णिमा, रक्षाबन्धन, दशहरा, दुर्गापूजा, दीपावलि, सरस्वतीपूजा र होलीमा अनिवार्य भेट्नुपर्छ । अधिक टाढा भए इच्छाअनुसार दर्शन गर्नुपर्ने शास्त्रीय आधारहरु प्नि छन् ।

गायत्रीमन्त्र विश्वामित्र ऋषिले गौरीशंकरहिमालमा साधनापछि प्राप्त गरेकाले यो नेपालको गरौव पेवा हो । गायत्रीभन्दा ठूलो कुनै धर्म, तप, देवता र मन्त्र छैन । इतिहासबाट विमुख हुँदा भारतीयले वैदिक पर्व, आर्ष ग्रन्थ, महत्वपूर्ण तीर्थ आदिलाई निजीकरण गरी लाभ लिइरहेका छन् ।

नातिको गुरु बा, बाको गुरुहजुर बा, हजुरबाको गुरु परबाजे भएझैँ प्राणीको गुरु प्रकृति, प्रकृतिकी गुरु ईश्वर हुन् । गुरु परम्पराको लहरो परमात्मासम्म पुग्छ । परमात्मालाई गुरु मानेर पृथ्वी घुम्छिन्, प्राणीहरुले प्राण धान्छन्, जीवहरु जन्मन्छन् । खान, लेख्न, हिँड्न, जिउन, अक्षर चिन्न गुरुकै आवश्यकता पर्दछ ।

गुरु नभए मानिस पशुझैँ चार खुट्टाले टेकेर, वानरझैँ रूखमा, बाघझैँ गुफामा, सर्पझैँ जमिनमा घिस्रिएर हिँड्ने थियो । चराचुरु∙ीलाई उड्न सिकाउने, माछालाई पौडन सिकाउने, चारखुट्टे र दुई खुट्टाले हिँड्न सिकाउने आ–आफ्नै गुरु हुन्छन् । गुरूपरम्परा मानवलगायतका सम्पूर्ण प्राणीहरूमा आदिमकालदेखि थियो । यसैले त दतात्रयका २४ भए ।

श्रद्धावाँल्लभते ज्ञानं तत्पर: संयतेन्द्रिय: ।

ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छति ।। –गीता (४।३९)

अर्थात् “जसको हृदय श्रद्धावान् छ, इन्द्रियहरूलाई संयममा राखेको छ, उसले ज्ञान र परमशान्ति प्राप्त गर्दछ ।” श्रद्धा र विश्वास हुनेले समय आएपछि गुरु भेट्छ । जबसम्म बाँच्दछौँ तबसम्म तीन गुरुलाई नछोड । वेदान्त र शास्त्रको अध्यापन गराउने गुरु, तेस्रो ईश्वरलाई चिनाउने गुरु । यसकारण गुरुका वचनलाई बाटो मान्छन्, ज्ञानलाई जीवन ठान्छन्, उपदेशलाई उपनिषद् संझन्छन् ।

नेपाल अहिले धार्मिक, आर्थिक, राजनीतिक रुपमा लथालिङ्ग हुनमा गुरुको अभाव हो । गुरुसँग गुरुत्व हुन्छ, मुलुकको गुण हुन्छ, पुर्खाको गुन हुन्छ । गुरुको मार्गदर्शन नमान्दा समाजको जरा चुडिन्छ, राष्ट्रको अवसान हुन्छ । गुरु शब्दको उच्चारण वा दर्शनले शिष्यको शरीर रोमाञ्चले भरिन्थ्यो, हृदयमा श्रद्धा उम्लन्थ्यो र शिष्यहरू गुरुको चरणस्पर्श गरी आशीर्वाद लिने हतारिन्थे । मेधावी, स्मृति भएको, विद्या प्राप्त गर्नका लागि लागि रहने, आफ्नो कार्यमा श्रद्धा हुने, सदा उत्साही, अध्ययनको विषयवस्तुप्रति लगाव राख्ने नै शिष्य हुन्छ ।

द्वापरयुगसम्म संसारमा दुईथरिका मानिसहरूमात्र बस्थे, एउटा गुरु अर्को चेला । अनुशासनमा रही गुरुले चेलालाई शासन गर्दथे । प्रशिक्षिणत गराउने, परीक्षा लिने, परामर्श दिने हुँदा गुरु विश्वासको जग हो, आस्थाको केन्द्र हो ।

गुरुमुख्या: क्रिया: सर्वा: भुक्तिमुक्तिफलप्रदा: ।

तस्माद् सेव्यो गुरोर्नित्यं मुक्त्यर्थं सुसमाहितै: ।।

अर्थात्, “सबैको भुक्ति–मुक्तिको फल दिने कार्य गुरुको हो । मोक्ष वा योग्यता चाहने शिष्यहरूले सधैँ गुरुको सेवा गरी विद्यार्जन गरोस् ।” गुरुले जन्तुलाई जनार्दन, विषालुलाई विष्णु, नशालुलाई नारायण, बुद्धुलाई बुद्ध, बरालिनेलाई ब्रह्मा, संस्कारबिहीनलाई शंकर बनाउने बाटो देखाउनुहुन्छ । गुरुलाई नमस्कार गर्नु मानवअधिकारको हनन ठान्दा आज शैक्षिक संस्थाले ९९ प्रतिशत विद्यार्थी उत्पादन गरेका छन् । पास नगराइदिए कुट्ने, दुर्गममा सरुवा गराइदिने विद्यार्थीको कर्तव्यजस्तै भएको छ ।

प्रजातन्त्रको पुनस्र्थापनापछि शिक्षण संस्थामा पार्टीका उपासक, झुण्डका अनुयायी, दलका पुजारी पुगेर सरस्वती र संस्कारलाई लखेटेका छन्, शिक्षकलाई दास बनाएका छन् । शिक्षकले बाटो भुल्दा विद्यार्थीको भविष्यले नेटो काट्छ, विद्यालय बेकुवहरुको अखडा बन्छ ।

वैदिक शिक्षापद्धतिमा विद्या+आलय (विद्याको घर) थियो, अब विद्या+लय अर्थात् विद्याकै नाश हुने ठाउँ बन्न थाले शिक्षणसंस्थाहरु । विद्यालय राजनीति गर्ने अखडा बने, विश्वविद्यालय ढुङ्गा–मुडा चलाउने मैदान भए । लोकतन्त्रको आगोले शिष्यको सपना जलाइदियो, गणतन्त्रको ज्वालाले छात्रछात्राहरुको भविष्य पलायन गरायो, निजीकरणले विपन्न तर मेधावी छात्रछात्राहरुले बौद्धिक क्षमतालाई गुमनाम गराए ।

आर्यावर्तमा ऋषिहरुले पढाए, गुरुहरुले सिकाए, मुनिहरुले प्रशिक्षण दिए । गुरुमा गुरुत्व, श्रीमतीमा सतीत्व, श्रीमान्मा अभिभावकत्व थियो । औषधीय गुण भएकाले वनस्पति, दैवी गुण भएका धातु र पत्थर, ईश्वरीय गुण भएका पर्वतहरु, अमृतस्वरुपको जलाशय हुनाले नेपालका पशुपंक्षीहरु देवीदेवताहरुका रुपमा पूजिए ।

यहाँका जमिन, जीव र वनस्पतिमा अलौकिक गुण एवं ऊर्जा हुनाले गुरुभूमिका नामले चिनियो । नेपालमा धर्म र साधनाको केन्द्र, ज्ञान तथा विज्ञानको विकास, साधक एवं ऋषिको जन्म हुनाले गुरुराष्ट्र भयो । आर्यावर्तका ऋषिकुल, वंशकुल र गुरुकुलको जरो नेपालको भूगोलमा आदिमकालदेखि थियो । वेदव्यासको भूमिमा गुरु नपाइनु, मुन्धुमको ज्ञान फैलिएको भूगोलमा शिक्षक नहुनु, त्रिपिटक दिने भूमिमा आचार्य नभेटिनु, वेद उत्पत्ति भएको राष्ट्रमा ऋषि र भन्ते नपाइनु दुर्भाग्य हो ।

पशुपतिले पाशुपतास्त्र दिए, दमौलीले श्रीमद्भगवत्गीता दियो, जनकपुरले अष्टावक्रगीता एवं जनकदर्शन दियो, गौरीशंकरहिमालले गायत्री मन्त्र दियो, पहाडहरुले शाक्ततन्त्र दिए, लुम्बिनीले बौद्धदर्शन दियो, पारुहाङ र सुम्निमाले तन्त्र तथा योग सिकाएकाले नेपालाई गुरुराष्ट्र बन्ने सौभाग्य जुटाइदियो । पाथीभरा, कालिञ्चोक, गोरखकाली, शैलेश्वरी, वडिमालिका आदिले दशमहाविद्यालाई जगाइरहे । देवीघाट, देवघाट, वर्दघाट, रुरुघाट, आर्यघाटजस्ता मुक्ति दिने घाटहरु यहीँ पर्छन।

देवीको आशीर्वाद र ऊर्जा बोक्ने महाकाली, विष्णुको ऊर्जा र आशीर्वादको प्रवाह गर्ने कालीगण्डकी, महादेवको आशीर्वाद र ऊर्जा बोक्ने त्रिशूली, रामतारकलाई सुसेल्ने विष्णुमती, शिवतारक गुञ्जाइरहने वाग्वती, मममनै सोùहम् जप्न सिकाउने मनोहरा, ऋषिहरुको ज्ञान र तपलाई बोक्ने कोशीले गुरुराष्ट्र नेपालको आत्मालाई जगाइरहेको छ । यसको गौरवलाई बचाइ रहन, पुस्तान्तरण र हस्तान्तरण गराउन गुरु र चेला चाहिन्छ ।

गुरु शब्दमा रहेको ‘गु’को अर्थ अँध्यारो, ‘रु’को अर्थ उज्यालो अर्थात्, जसले अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी उज्यालोतर्फ डोर्‍याउने गुरु हो । गुरु कसैको दास र पाठ्यक्रमको ठेकेदार होइन, ईश्वरको स्वरुप हो, ज्ञान र विज्ञानको संवाहको हो, अनुभवको भण्डार हो । गुरुको चरणमा राजनीति झुक्छ, प्राणीमा आशीर्वाद बर्सन्छ, समाजमा संस्कार फूल्छ, विश्वविद्यालयहरू फक्रन्छन्, परम्पराहरु ओत लाग्छन्, ज्ञानको सुबास एवं विज्ञानको उज्यालो फैलन्छ ।

गुरुको तागतलाई गोरखनाथको आशीर्वादबाट जान्न पाइन्छ, चाणक्यबाट सिक्न सकिन्छ, समर्थगुरु रामदासबाट बुझ्नुपर्छ । बहुदलबाट गणतन्त्रसम्म आइपुग्दा नेपालको ज्ञान सुकेर गुरुहरू निहुरिँदै छन्, विज्ञानका आँखा झुकेका छन्, इतिहास चित्त दु:खाएर बाँच्दै छन् । उपकुलपतिको नियुक्त, प्रधानाध्यापकको छनोट, शिक्षकको सरुवा गराउन नेता भेट्नुपर्छ, पार्टीहरुको चौतारीमा ओत लाग्नुपर्छ । यसले गुरुलाई बाँच्न र शिष्यलाई उम्रन दिँदैन ।

गुरुब्रम्हा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर:  ।

गुरु: साक्षात् परंब्रम्ह तस्मै श्रीगुरवे नम: ।। 

गुरु ब्रम्हा हुन् जसले ज्ञानलाई जन्माउँछन्, गुरु विष्णु हुन् जसले ज्ञानलाई फूलाउँदै, फलाउँदै जीवन्त राख्छन् । विद्यार्थीको अभिमानलाई नाश गराउने हुँदा गुरुलाई महादेव मानिन्छ । विभिन्न नाम र ज्ञानका गुरुहरु अन्तत: परमात्मा हुन् । गुरुले डाक्टर, प्रोफेसर, उपकुलपति, विद्वान्, लेखक आदि जन्माउँछन् ।

गृह्णाति ब्रम्हत्वं उपदिशति शिष्यान् इति गुरु: अर्थात्, ब्रम्हत्वं बुझेर शिष्यहरूलाई उपदेश दिनेलाई गुरु भनिन्छ । शिक्षकमा रहेको ‘शि’ले शिष्ट, ‘क्ष’ले क्षमतावान्, ‘क’ले कर्मठ हुनुपर्ने बताउँछ । बुबाआमाको सम्पत्ति सन्तानले समानरूपमा नपाउन सक्छन् तर गुरुको ज्ञान विना भेदभाव सबैले बराबर पाउने हुँदा ईश्वरको स्वरुप भनिन्छ ।

ईश्वरको आशीर्वाद प्राप्त गर्न समय लाग्छ तर गुरुको कृपा तुरुन्त मिल्छ । भीष्मपितामहले आफ्ना गुरु परशुरामलाई हराए । चेलाले हराएको बदलामा परशुरामले भीष्मलाई आशीर्वाद दिए । गुरुले शिष्यलाई अब्बल बनाउने वैदिक परम्परा हो । युगको संकेत गुरुले गराउँछ, इतिहास चेलाले बनाउँछ, शिक्षा र शिक्षकलाई शिष्यले संरक्षण र विस्तार गर्छ । कवीरदासले भनेका छन्–

गुरु गोविन्द दोऊ खडे काके लागौँ पाय ।

बलिहारि गुरु आपनु गोविन्द दियो दिखाय ।।

कवीरको अगाडि एकै समयमा भगवान्् र उनका गुरु रामानन्द उभिदा पहिले कसलाई नमस्कार गरौँ भन्ने दोमन भएछ । भगवान्सम्म पुर्‍याउने गुरु हुनुहुन्छ भन्ने बुझेर पहिले गुरुको पाउमा लागेछन् । त्यो घटनाले भगवान्् र गुरु दुबै प्रसन्न भए । भौतिक गुरुको आशीर्वाद विना अदृश्यगुरुको दर्शन मिल्दैन । गुरुविना सीप, शिक्षा, अनुभव, संस्कार हस्तान्तरण हुँदैन ।

प्राचीन शिक्षा जनमुखी, माटोमुखी, सेवामुखी, सन्ततिमुखी, राष्ट्रमुखी भएकाले विद्या वन्द्या थिइनन् अहिले पनि संस्कृतशिक्षा पढेकाहरू बेरोजगार बस्नुपरेको छैन । नेपाललाई गुरुराष्ट्र, नेपालीलाई गुरु बनाउन गुरुत्व भएको शिक्षा, वैदिक ज्ञान, आर्ष चेत समेटिएको पाठ्यक्रम चाहिन्छ, वैदिकशिक्षा र संस्कृतिमा फर्कनुपर्छ । एकमप्यक्षरं  यस्तु  गुरु: शिष्ये  निवेदयेत् ।

पृथिव्यां नास्ति तद्द्रव्यं यद्दŒवा èनृणो भवेत् ।।–अत्रिस्मृति (१।१९)

अर्थात्, “गुरुले आशीर्वचनस्वरूप एक अक्षरमात्र पढाए पनि गुरुदक्षिणास्वरूप पृथ्वी नै गुरुका चरणकमलमा अर्पण गरे पनि ऋणबाट मुक्त हुन सक्दैन ।” शिक्षितबाट पुर्खा र परम्परामा टेवा मिल्छ, समाज र राष्ट्रको शिर अडिन्छ, भविष्य र सन्तानले गर्व गर्नुपर्छ । राष्ट्रले अरबौँको खर्च गरेको शिक्षाबाट कला, भाषा, इतिहास, संस्कृति आदि मेटाउन लगाउने, पलायनमा रमाउने, भ्रष्टाचारद्वारा बाँच्नुपर्ने, गाली गरेर शान देखाउनुपर्ने, आफ्नो धर्म–संस्कृति छोडेर गौरव गर्ने शिक्षाले नेपालीलाई बर्वाद गरायो ।

हामी छात्र–छात्रा बनाउने शिक्षा चाहन्छौँ, नेपाल बनाउने शिष्य चाहन्छौँ, माटो र आफू चिनाउने गुरु चाहन्छौँ । आज असल चेला भएर भोलि असल गुरु बन्ने शिक्षा आवश्यक छ ।

इतिहास र ईश्वर बुझ्ने, माटो र मातालाई पूज्ने, नेपाल र नेपालीलाई शिरमा राख्ने असल गुरु र सभ्य चेला चाहिन्छ । पहिलो पुस्ता र भावी पुस्तालाई जोड्ने शिक्षाले मात्र गुरुको संरक्षण गर्छ । शिक्षा, सीप, कला, इतिहास आदिको संरक्षण र संवर्द्धन  गर्न, गुरुलाई जीवित गराउन, विद्याको तन्तुलाई सुरक्षा गर्न शिष्य चाहिन्छ । परमात्मा र प्रकृतिको अन्तरङ्ग सम्बन्धजस्तै सृष्टि रहेसम्म गुरु र चेला परिपूरकका रुपमा रहन्छन् ।