काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिको परिभाषा र परिचय बदल्नुपर्ने बताउनुभएको छ ।
४४ औँ वीपी स्मृति दिवसका अवसरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले राजनीति केवल शक्ति र सत्ता प्राप्तिको प्रतिष्पर्धा मात्र नभएको स्पष्ट पार्नुभएको हो ।
सभापति थापाले राजनीतिको वास्तविक अर्थ जनसेवा र सामाजिक रूपान्तरणसँग जोडिनुपर्ने बताउनु भयो । उहाँले भत्केका विद्यालय बनाउनु, लागुपदार्थको दुव्र्यसनमा फसेका युवाहरूलाई सही मार्गमा ल्याउनु, किसानलाई मल र उत्पादनको उचित मूल्य दिलाउनु तथा वन, नदी र पर्यावरणको संरक्षण गर्नु नै वास्तविक राजनीति भएको बताउनु भयो ।
वीपी कोईरालाका विचार र आदर्शको स्मरण गर्दै उहाँले नेपाली काँग्रेस एउटा निर्वाचनको हार वा जितबाट नआत्तिने बताउनु भयो । निर्वाचन जित्ने नाममा आफ्नो आस्था र सिद्धान्तसँग सम्झौता गरेर गरिने गठबन्धनको राजनीतिले काँग्रेसको मौलिक पहिचानलाई कमजोर बनाउने उहाँको तर्क छ ।
सभापति थापाले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई समाजसँग पुनः सुमधुर सम्बन्ध स्थापित गर्न आग्रह गर्नुभयो । समाजसँग जोडिएको पार्टीलाई नागरिकले नै विश्वास गरेर सत्ताको नेतृत्व सुम्पने बताउँदै उहाँले विगतका गल्तीहरू सुधार्दै जनताको घरदैलोमा पुग्न निर्देशन दिनुभयो । उहाँले काँग्रेसलाई सत्ताको खेलमा मात्र सिमित नराखी सामाजिक परिवर्तनको संवाहक बनाउनुपर्नेमा जोड दिनुभयो ।











