५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष



अ+ अ-

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारका क्षेत्रमा हुने ठगी न्यूनीकरण गर्दै अन्ततः शून्यमा झार्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ।

मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागको निरीक्षणका क्रममा मन्त्री यादवले वर्षौंदेखि थन्किएर रहेका उजुरीका फाइल व्यवस्थापन गरी दोषीमाथि कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँका अनुसार विसं २०५७ सालदेखि थन्किएर रहेका ४० हजारभन्दा बढी उजुरीका फाइल हालै फेला परेका छन्। दशकौँदेखि व्यवस्थित रूपमा अध्ययन तथा अनुसन्धान हुन नसकेका ती फाइललाई विभागको नेतृत्वमा खोजी, व्यवस्थापन र वर्षअनुसार वर्गीकरण गरिएको उहाँले जानकारी दिनुभयो।

मन्त्री यादवले सबै उजुरीका फाइल क्रमशः विद्युतीकरण गरी गहिरो अनुसन्धान अघि बढाइने र पीडितलाई न्याय दिलाउने प्रक्रिया अगाडि बढाइने बताउनुभयो। अबदेखि अनलाइनमार्फत दर्ता हुने उजुरी स्वतः विद्युतीय प्रणालीमा अभिलेख हुने व्यवस्था गरिएको उहाँको भनाइ छ।

वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन सरकारले नयाँ विद्युतीय प्रणालीको सुरुवात गरेको जानकारी दिँदै मन्त्री यादवले उजुरी दर्ताका क्रममा आवश्यक कानुनी ढाँचा प्रणालीबाटै स्वतः तयार हुने व्यवस्था गरिएको बताउनुभयो। यसबाट सेवाग्राहीले महँगो कानुनी सहायता लिनुपर्ने बाध्यता समेत कम हुने उहाँको भनाइ छ।

वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई चेतावनी दिँदै मन्त्री यादवले जहाँसुकै लुकेर बसे पनि नेपाल प्रहरी, सम्बन्धित अनुसन्धान निकाय र वैदेशिक रोजगार विभागको समन्वयमा कानुनी दायरामा ल्याइने बताउनुभयो। ठगीबाट असुलिएको रकम पीडितलाई फिर्ता गराउन सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।

मन्त्री यादवले वैदेशिक रोजगारसम्बन्धी विद्यमान ऐन संशोधनको प्रक्रिया समेत अघि बढाइएको जानकारी दिनुभयो। मन्त्रिपरिषद्बाट स्वीकृति लिएर संसद्मा विधेयक प्रस्तुत गरेपछि थप आधुनिक र पूर्ण रूपमा विद्युतीय प्रणाली लागू गरिने उहाँले बताउनुभयो।

भविष्यमा वैदेशिक रोजगारीसम्बन्धी अधिकांश सेवा अनलाइनमार्फत उपलब्ध गराउने तयारी भइरहेको उल्लेख गर्दै उहाँले म्यानपावर कम्पनीमा आवेदन दिन, अन्तर्वार्ताको समय निर्धारण गर्न तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्न काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो। प्रदेशस्तरबाटै सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ।

मन्त्री यादवले वैदेशिक रोजगारीको विकल्पका रूपमा स्वदेशमै रोजगारी सिर्जना गर्न मन्त्रालयले समानान्तर रूपमा काम गरिरहेको पनि बताउनुभयो। युवाले आफ्नै देशमा सम्मानजनक रोजगारी पाउने वातावरण निर्माण गर्न नयाँ रोजगार नीति तयार भइरहेको र रोजगारी प्रवद्र्धनका १५ वटा प्याकेज अध्ययन तथा तयारीको चरणमा रहेको उहाँले जानकारी दिनुभयो।

वर्षौंदेखि अस्तव्यस्त बनेको वैदेशिक रोजगार क्षेत्रको प्रणाली सुधारका लागि अहिले ‘सफाइ अभियान’ सञ्चालन भइरहेको उल्लेख गर्दै मन्त्री यादवले विकृति, विसंगति र अनियमितता हटाएर पारदर्शी, मर्यादित र श्रमिकमुखी प्रणाली निर्माण गरिने बताउनुभयो।

उहाँले भन्नुभयो, “जसरी घर बनाउनुअघि जग्गा सफा गर्नुपर्छ, त्यसैगरी अहिले हामी वैदेशिक रोजगार क्षेत्रका विकृति, विसंगति र अनियमितता हटाएर पारदर्शी, मर्यादित र श्रमिकमुखी प्रणाली निर्माण गरिरहेका छौँ।”

मन्त्री यादवले आवश्यक अध्ययन र तयारीपछि रोजगारी प्रवद्र्धनका कार्यक्रम सार्वजनिक गरिने र आगामी दिनमा युवाले स्वदेशमै रोजगारी पाउने वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।