काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समाजमा अराजकता मच्चाउने र कानूनको बर्खिलाप गर्ने कामको नेतृत्व गरिरहेको आरोप लगाउनुभएको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । सरकारको विरोध गर्ने युवालाई अध्ययन, रोजगारी तथा विदेश जाने अवसरबाट वञ्चित गरिने भन्दै त्रासको वातावरण सिर्जना गर्ने कार्य सरकारले गरिरहेको उहाँको आरोप छ ।
उहाँले मुलुकमा नागरिक स्वतन्त्रता खुम्चिँदै गएको तथा राज्यका अंग र निकायहरु समेत कार्यकारिणीको नियन्त्रमा पुगेको टिप्पणी गर्नुभयो । उहाँले सरकार कानूनी शासनको स्थापना गर्नुको सट्टा कानून र नियम मिच्ने कार्य गरिहो आरोप पनि लगाउनु भयो । राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमले सरकारमाथि प्रभावकारी निगरानी र आलोचना गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।
उहाँले देश फासीवादतर्फ उन्मुख भइरहेको र जनतामा रुवाबासीको अवस्था रहेको टिप्पणी पनि गर्नुभयो ।











