काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात विस्तारका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी तथा सदस्यहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले तीनै तहका सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्द्धनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने जानकारी दिनुभयो।
प्रधानमन्त्री शाहका अनुसार उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको सीमा निर्धारण, ट्र्याकिङ तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ। साथै, स्वदेशी उत्पादनको प्रयोग, प्रवर्द्धन र बजार विस्तारमा सरकारले विशेष जोड दिने उहाँको भनाइ थियो।
छलफलका क्रममा एफएमएएनका पदाधिकारीहरूले भारतसँग जोडिएका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न, कर तथा भ्याटको दायराबाहिर रहेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउन तथा गुणस्तरहीन र सस्तो जुत्ता–चप्पलको आयात नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
उनीहरूले आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न, स्वदेशी उद्योगलाई आवश्यक नीतिगत सहयोग, बजार संरक्षण तथा उद्योगमैत्री व्यवस्था उपलब्ध गराउन पनि आग्रह गरेका थिए। यस्ता व्यवस्था भए स्वदेशी जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास उनीहरूले व्यक्त गरेका थिए।
छलफलमा एफएमएएनका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम तथा सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता रहेको थियो।











