ललितपुर: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानून वा अन्य कुनैपनि बहानामा त्रसित तुल्याउने सरकारको मनशाय नरहेको प्रष्ट पार्नुभएको छ ।
नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिवद्ध रहेको बताउनुभएको हो । सरकारले साइबरसँग सम्बन्धित विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था सिर्जना गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गर्नुभयो ।
आफूले सञ्चार माध्यमहरू बन्द नगरेको आरोप खेप्नुपरेको भन्दै उहाँले सञ्चार माध्यमलाई कसरी थप जिम्मेवार र व्यवस्थित बनाउने भन्ने विषयमा ध्यान दिन आग्रह गर्नुभयो । पत्रकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरामा सरकार जानकार रहेको स्पष्ट पार्नुभयो । पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य नरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘हामी पत्रकारिताको क्षेत्रलाई साइबर कानून वा अन्य कुनै कानूनको प्रयोग गरेर त्रसित पार्न अथवा दबाब सिर्जना गर्न सरकारमा आएका होइनौँ । यो कुरा स्पष्ट रूपमा बुझ्न आग्रह गर्दछु । तपाईंहरूले साइबरसँग सम्बन्धित विषयहरू के–के हुन् भन्नेकुरा पनि जानकारीमा राख्नुपर्छ । सरकारले त्यस्ता विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था बन्यो भने त्यो सबैभन्दा राम्रो हुन्छ । तर कहिलेकाहीँ यति धेरै गुनासाहरू आउँछन् कि एउटा मन्त्रीका रूपमा मैले दिनदिनै यो किन बन्द नगरेको ?, त्यो किन बन्द नगरेको ? भन्दै सञ्चार माध्यमहरू बन्द नगरेको आरोप खेप्नुपरेको हुन्छ । त्यसैले सञ्चार क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाले सञ्चार माध्यमलाई कसरी थप जिम्मेवार र व्यवस्थित बनाउने भन्ने विषयमा पनि ध्यान दिनुभयो भने सरकारलाई काम गर्न सहज हुन्छ । पत्रकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरा सरकारलाई राम्रोसँग थाहा छ । तर सरकार विभिन्न पक्षप्रति जवाफदेही हुनुपर्ने बाध्यताका कारण कहिलेकाहीँ केही विषयमा फरक परिस्थिति सिर्जना हुनसक्छ । यद्यपि पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य छैन । यो कुरा म स्पष्ट रूपमा भन्न चाहन्छु । हामी यो क्षेत्रलाई बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन सधैँ तयार छौँ । तर गैरकानूनी माग वा विषय लिएर सञ्चार मन्त्रालयमा नआउनुहोला । त्यो स्वीकार्य हुँदैन । म सञ्चार क्षेत्रको हित, संरक्षण र उन्नयनका लागि काम गर्न पूर्णरूपमा तयार छु ।’
मन्त्री तिमिल्सिनाले सरकार सञ्चार क्षेत्रलाई अझ बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन तयार रहेको जिकिर गर्नुभयो । कुनैपनि गैरकानूनी माग वा विषय लिएर सञ्चार मन्त्रालयमा नआउन पनि उहाँले चेतावनी दिनुभयो ।
सञ्चारमन्त्री तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताउनु भयो । उहाँले सरकार प्रेस स्वतन्त्रताको संकुचन गर्नेतर्फ नलागेको स्पष्ट पार्नुभएको हो । उहाँले सरकारलाई लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको बताउनु भयो । सरकारले संवैधानिक हक–अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पु¥याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानूनी व्यवस्था रहेको जिकिर गर्नुभयो । कुनै विषयमा संवाद गर्न आवश्यक भए सरकार पत्रकारहरुसँग छलफल गर्न तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ यो सरकारले प्रेस स्वतन्त्रता सङ्कुचन गर्न लागेको जस्तो संकेत उहाँहरूले गरेको मैले पाएँ । त्यस विषयमा चिन्तित नहुन सम्पूर्ण पत्रकार मित्रहरूलाई अनुरोध गर्न चाहन्छु । हामीलाई लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी छ । आज मूल प्रश्न प्रेस स्वतन्त्रता हुने कि नहुने भन्ने होइन । कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन । तपाईंहरूले नै भनिरहनुभएको छ, यो संवैधानिक अधिकार हो । फेरि तपाईंहरू नै सरकारले प्रेस स्वतन्त्रता दिएन भन्नुहुन्छ । यदि सरकारले संवैधानिक हक–अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पु¥याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानूनी व्यवस्था छन् । तर सञ्चार मन्त्रालयको तर्फबाट म पूर्ण प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । कुनै विषयमा संवाद गर्न आवश्यक छ भने हामी बसेर छलफल गर्न तयार छौँ । कहिलेकाहीँ कतिपय विषय व्याख्या र न्यारेटिभका कारण फरक ढङ्गले बुझिन सक्छन् । कुनै विषयलाई कसैले प्रेस स्वतन्त्रताको हनन भएको ठान्नसक्छ भने अर्काले त्यो प्रेस स्वतन्त्रता हननको विषय होइन भन्न पनि सक्छ । त्यस्ता विषय छन् भने बसेर सल्लाह र छलफल गर्न सकिन्छ । त्यसैले आजको मूल प्रश्न प्रेस स्वतन्त्रता छ कि छैन भन्ने होइन । हामी यस्तो अवस्थामा छौँ, जहाँ कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन । तर मेरो विचारमा यहाँ सबैको हितका लागि मूलभूत प्रश्न सरकार जिम्मेवार हुनुपर्छ भन्ने हो । यस विषयमा कुनै विवाद छैन । सरकार जिम्मेवार हुनैपर्छ । यदि सरकार कतै गैरजिम्मेवार भएको छ भने त्यसबारे प्रश्न उठाउनु पत्रकारहरूको सबैभन्दा ठूलो दायित्व हो । त्यसमा कुनै शङ्का छैन ।’
मन्त्री तिमिल्सिनाले सरकार गैरजिम्मेवार बने त्यसबारे प्रश्न उठाउनु पत्रकारको सबैभन्दा ठूलो दायित्व भएको जिकिर गर्नुभयो । न्युज एजेन्सी नेपाल











