१५ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ स्थगित नेपाल अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम शुरु हुँदै



अ+ अ-

काठमाडौं । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायतका क्षेत्रहरुमा दोस्रो चरणको अन्वेषणको कार्य शुरु हुने भएको छ । यसपालिको अन्वेषणबाट कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन भू–भागमा रहेको छ भन्ने कुराको निस्कर्ष निकालिने बताइएको छ ।

चीन सरकारको विशेषज्ञ टोली दशैँअघि दोस्रोपटक दैलेख आएको छ । उत्खनन कार्यका लागि आवश्यक पर्ने इन्धनलगायतका सामानहरुको व्यवस्थापनसँगै उत्खनन समयमा विशेषज्ञ टोली बस्ने स्थानको समेत छनोट भइसकेको छ । टोलीले प्रजिअ, दैलेखका सांसद, निर्वाचित जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गरेर काठमाडौँ फर्केको र दशैँ सकिएलगत्तै काम शुरु हुने बताएको छ ।

असार २६ गते औपचारिक उद्घाटनसँगै दैलेख आएको चीन सरकारको विशेषज्ञ टोली करीब १५ दिन अनुसन्धान गरेर फर्केको थियो । उक्त समयमा दैलेखका विभिन्न भू–भागहरुको स्थलगत अध्ययनसमेत गरिएको थियो । पुनः असोज दोस्रो सातामा टोली दैलेख आएर अन्वेषणका लागि आवश्यक पर्ने विषयहरुमा छलफल गरेको प्रजिअ युवराज कट्टेलले जानकारी दिनुभयो ।

दोस्रो चरणको अन्वेषणका लागि चीनबाट आवश्यक सामग्रीहरु दशैँलगत्तै काठमाडौँ आउने र सामग्रीसहित दशैँपछि टोली दैलेख आउने भएको अन्वेषण परियोजनामा संलग्न गणेशराज त्रिपाठीले जानकारी दिनुभयो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित चीन सरकारको विशेषज्ञ टोलीले औपचारिक उद्घाटपछि काम शुरु गरिएको अन्वेषणको कार्यका लागि दशैँपछि भौगोर्भिक सर्वे, म्यागनेट सर्वेलगायतका कामहरु हुने बताइएको छ ।

जमीनको पाँच किलोमिट मुनिसम्म ड्रिलिङ गरेपछि पेट्रोलियम पदार्थको परिणाम पत्ता लाग्न सकिने भएकाले सोही अनुसार अनुसन्धान थालनी हुने भएको छ । यसपालिको अनुसन्धानबाट कति परिमाणमा भण्डारण छ भन्ने कुराको ठोस निष्कर्ष आउने र सोही अनुसार काम अगाडि बढ्ने सरकारको तयारी रहेको छ ।

नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौताअनुसार काम शुरु भएको यो परियोजना परिणामुखी हुने र नेपालको आर्थिक अवस्था सुधारसँगै समग्र दैलेख जिल्लाको विकासमा टेवा पुग्ने प्रतिनिधिसभाका सांसद रवीन्द्रराज शर्माले जानकारी दिनुभयो । जिल्लाका निर्वाचित जनप्रतिनिधि र स्थानीय सरकारले अन्वेषण कार्यका लागि सबै तह र तप्काबाट सहयोग गरेर अन्वेषणको काम सफल बनाउनेतर्फ अगाडि बढेको प्रदेशसभा सदस्य अमरबहादुर थापाले बताउनुभयो ।

दैलेख जिल्लामा पेट्रोलियम पदार्थ रहेको विभिन्न अध्ययन–अनुसन्धानबाट थाहा भए पनि अझै यसको गहन अध्ययन र उत्सखनन हुन सकेको छैन । चिनियाँ विशेषज्ञ टोलीसहित नेपाली विशेषज्ञहरुको पहलमा यसपटक गरिने अन्वेषणबाट अगामी दिनमा उत्खननका लागि सजिलो हुनेछ । पेट्रोलियम पदार्थमा पूर्णरुपमा विदेशमा निर्भर रहनुपर्ने नेपालका लागि स्वदेशमै उत्खनन हुनु आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि हुनसक्ने विश्वास गरिएको छ ।