१६ असार २०८३, मंगलवार
,
Latest
गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्रवादी, वामपन्थी र देशभक्त शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताएका छन्। उनले लोकतान्त्रिक मूल्य–मान्यता जोगाउन साझा संघर्षको विकल्प नरहेको धारणा व्यक्त गरे।

मङ्गलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रममा सम्बोधन गर्दै ओलीले लोकतन्त्रमाथि भएको हस्तक्षेपविरुद्ध समान सोच भएका शक्तिहरू एकजुट हुनुपर्ने बताए।

उनले अहिले पार्टी एकीकरणको सम्भावना नरहेको स्पष्ट पार्दै त्यसबारे अनावश्यक अपेक्षा नराख्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। यद्यपि, एमालेको विचार र नीति स्वीकार गरेर आउने व्यक्ति वा समूहलाई भने पार्टीमा समेट्ने नीति कायम रहने उनको भनाइ थियो।

अध्यक्ष ओलीले विगतका पार्टी एकताका अनुभव सन्तोषजनक नरहेको उल्लेख गर्दै एकता स्वार्थ, शक्ति सन्तुलन वा राजनीतिक दाउपेचका आधारमा नभई सिद्धान्त र विश्वासमा आधारित हुनुपर्ने धारणा राखे।

उनले गत फागुन २१ गते सम्पन्न निर्वाचन तथा २०८२ भदौ २३ र २४ गते भएका घटनाको प्रसंग उठाउँदै ती घटनालाई वैधानिकता दिन खोजिएको आरोप लगाए। गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले भदौ २३ गते गोली चलाएको जिम्मेवार पक्ष र दुई दिनसम्म सुरक्षा संयन्त्र किन प्रभावकारी हुन सकेन भन्ने मूल प्रश्नको उत्तर नदिएको भन्दै उनले आयोगले घटनाको वास्तविकता ढाकछोप गरेको दाबी गरे।

भदौमा भएका घटनालाई संविधान, लोकतन्त्र र एमालेविरुद्ध लक्षित योजनाबद्ध गतिविधि भएको उनको दाबी थियो। त्यसलाई युवा विद्रोह वा स्वाभाविक आन्दोलनका रूपमा व्याख्या गर्ने प्रयासप्रति सचेत रहन उनले कार्यकर्तालाई आग्रह गरे।

पार्टी पुनर्गठनका सन्दर्भमा ओलीले निष्क्रिय रहेका पार्टी कमिटीहरूलाई पुनः सक्रिय बनाइ संगठनलाई थप सुदृढ बनाइने बताए। उनले पार्टीभित्र एकता, अनुशासन र संगठनात्मक सुदृढीकरणलाई आगामी प्राथमिकताका रूपमा अघि बढाइने उल्लेख गरे।