ललितपुर — अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित मोडा योग फेस्टिभल २०२६ शनिबार ललितपुरमा सफलतापूर्वक सम्पन्न भएको छ। योग, वेलनेस, ध्यान, संगीत, कला र सचेत जीवनशैलीलाई केन्द्रमा राखिएको कार्यक्रममा १००० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।
बखुण्डोलस्थित कुण्डलिनी आयुर्वेद परिसरमा मोडा योग स्टुडियोद्वारा आयोजित फेस्टिभल दिनभर विभिन्न गतिविधिसहित सञ्चालन गरिएको थियो। कार्यक्रमको सुरुवात बिहान ७ बजे मोडा योग टिमद्वारा सञ्चालित निःशुल्क सामूहिक हठयोग सत्रबाट भएको थियो। त्यसपछि पिज्जा महर्जन तथा टोलीले इनभर्सन तथा ह्यान्डस्ट्यान्ड कार्यशाला सञ्चालन गरेका थिए।
यस वर्षको विशेष आकर्षणका रूपमा रोनाली अमात्य तथा टोलीद्वारा सञ्चालन गरिएको इन्फ्लुएन्सर योग, साउन्ड हिलिङ तथा वेलनेस ब्रन्च कार्यक्रम रहेको थियो, जसले वेलनेस सिर्जनाकर्ता तथा जीवनशैलीसँग सम्बन्धित व्यक्तिहरूलाई एकै स्थानमा ल्याएको थियो।
कार्यक्रममा बोल्दै आयोजक रोनाली अमात्य ले फेस्टिभल समुदायमा आधारित पहल भएको र यसको मुख्य उद्देश्य वेलनेस तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नु रहेको बताइन्।
उनले भनिन्, “हाम्रो उद्देश्य वेलनेस प्रवर्द्धन गर्नु पनि हो, र हामी आगामी वर्षलाई ‘वेलनेस वर्ष’ घोषणा गर्नेबारे विचार गरिरहेका छौं। यो कार्यक्रम पूर्ण रूपमा समुदायमा आधारित हो। हामी सबैलाई निःशुल्क रूपमा प्रिमियम अनुभव दिने प्रयास गरिरहेका छौं।”
उनका अनुसार कार्यक्रमले स्थानीय ब्रान्ड, कलाकार तथा उद्यमीहरूलाई आफ्नो काम प्रदर्शन गर्ने अवसर समेत उपलब्ध गराएको छ।
दिउँसो १:३० बजेपछि सञ्चालन गरिएको कन्सस मार्केटप्लेस मा विभिन्न वेलनेस, अर्गानिक, खाद्य तथा सिर्जनात्मक क्षेत्रका स्थानीय ब्रान्डहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई थप आकर्षक बनाउन रोशन महर्जन तथा टोलीले लाइभ इन्स्ट्रुमेन्टल प्रस्तुति दिएका थिए, जसले दिनभर शान्त र ध्यानमय वातावरण सिर्जना गरेको थियो।
फेस्टिभलको समापन साँझ आयोजित सनसेट कीर्तन कन्सर्ट मार्फत गरिएको थियो। सजल न्यौपाने तथा टोलीले भक्तिभावपूर्ण संगीत प्रस्तुत गर्दै सामूहिक सहभागितासहित कार्यक्रमलाई समापन गरेका थिए।
आयोजकका अनुसार फेस्टिभलको उद्देश्य योग, स्वास्थ्य, एकता तथा सचेत जीवनशैलीलाई समुदायस्तरसम्म विस्तार गर्नु रहेको छ।





फोटो- सुनिल शर्मा











