१ असार २०८३, सोमबार
,
Latest
नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट



अ+ अ-

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका स्थायी वासिन्दाहरुले काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सोमवार गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेडबीच स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार गोकर्णेश्वरका स्थायी बासिन्दाले केएमसीको दुवाकोट युनिटमा साधारण शैयामा भर्ना भएर उपचार गराउँदा औषधि, औषधिजन्य सामग्री, उपकरण, इम्प्लान्ट, क्याबिन तथा केही विशेष सेवाबाहेक अन्य उपचार खर्चमा ५० प्रतिशत छुट पाउनेछन् ।

सिनामंगल शाखामा उपचार गराउँदा भने सोही प्रकृतिका सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ । दुवाकोटमा उपचार गरिएका बिरामीको कुल खर्चको ५० प्रतिशत तथा सिनामंगलमा उपचार गरिएका बिरामीको कुल खर्चको ७५ प्रतिशत रकम गोकर्णेश्वर नगरपालिकाले केएमसीलाई शोधभर्ना गर्ने सम्झौतामा उल्लेख छ । उक्त छुट प्रतिव्यक्ति वार्षिक एक लाख तीन हजार रुपैयाँसम्मको उपचार खर्चमा लागू हुने जनाईएको छ । सोभन्दा बढी खर्च बिरामी स्वयंले व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका विरामीलाई नगरपालिकाले प्रतिव्यक्ति थप तीन लाख नौ हजार रुपैयाँ उपलब्ध गराउने छ । अन्य सहुलियत रकमसमेत जोड्दा एक बिरामीले नगरपालिकाबाट अधिकतम चार लाख १२ हजार रुपैयाँसम्म सहयोग प्राप्त गर्न सक्नेछन् । विपन्न नागरिक औषधि उपचार कार्यक्रम, स्वास्थ्य बीमा तथा अन्य उपलब्ध सुविधाको उपयोग गरिसकेपछि पनि रकम अपुग भएमा केएमसीले थप चार लाख १२ हजार रुपैयाँसम्म छुट प्रदान गर्नेछ ।

केएमसी अस्पतालका सञ्चालक डा. सुनिल शर्माले नगरवासीहरुले स्वास्थ्यबीमा, विपन्न, गरिब, गोकर्णेश्वर नगरपालिका र केएमसीको उपचार छुट गरेर मिर्गौलापीडितले १० लाख रुपैयाँसम्मको उपचार निशुल्क पाउने बताउनु भयो । मिर्गौला प्रत्यारोपन गर्ने सेन्टरहरु नेपालमा कम हुँदा पनि गोकर्णेश्वरका नागरिकले निःशुल्क उपचार पाउनु गर्वको विषय भएको उल्लेख गर्नुभयो । उहाँले आफूहरुले नेपालमा कलेजो प्रत्यारोपन गर्ने बारेमा पनि आवश्यक प्रक्रिया अगाडी बढाईरहेको जानकारी दिनुभयो ।

नगरपालिका प्रमुख दीपककुमार रिसालले गोकर्णेश्वरवासीलाई निशुल्क उपचार गराउने महानगरको लक्ष्य रहेको बताउनु भयो । उहाँले वडास्तरमा रहेका स्वास्थ्यचौकी, नगर अस्पताल र आसपासका अन्य निजी अस्पतालको सहकार्यमा नगरवासीहरुलाई सहुलियतमा उपचार सेवा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले हाल ३० करोड रुपैयाँ बराबरको लागतमा नगर अस्तपाल निर्माणधिन रहेको बताउनु भयो । नगरपालिका आसपासका ११ वटा अस्पतालमा सहुलियतमा उपचार गर्नको लागि सम्झौता गरिएको उहाँको भनाई छ । उहाँले एक लाखदेखि १० लाख रुपैयाँसम्मको सहुलियत दिनेसम्बन्धी अस्तपालसंग सम्झौता गरिएको बताउनु भयो ।

सम्झौताअनुसार उपचारमा आवश्यक पर्ने रगत उपलब्ध गराउन नगरपालिकाले सिफारिस गर्नेछ । रगतको प्रयोगशाला परीक्षण शुल्कबापत प्रतिपिन्ट एक हजार दुई सय १० रुपैयाँ नगरपालिकाले अस्पताललाई शोधभर्ना गर्नेछ । सहुलियत प्राप्त गर्न सेवाग्राहीले उपचार सहुलियतका लागि निवेदन, नागरिकता, मतदाता परिचयपत्र, विवाह दर्ता प्रमाणपत्र, नाबालकका हकमा जन्मदर्ता प्रमाणपत्र तथा बीमितका हकमा बीमा कार्ड पेश गर्नुपर्नेछ ।

उपचार सम्पन्न भएपछि अस्पतालले खर्च विवरण, बिल भरपाई, उपचार कार्ड, नगरपालिकाको सिफारिसपत्र तथा स्थायी बसोबास पुष्टि हुने कागजातसहितको विवरण स्वास्थ्य शाखामा पेश गरेपछि नगरपालिकाले ३० दिनभित्र भुक्तानी गर्ने व्यवस्था गरिएको छ । सम्झौता साउन १ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहने जनाईएको छ ।