२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति



अ+ अ-

बागलुङ। बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाले विनियोजन गरेको रु ७२ लाख लगातमा ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो ।

नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ ।

गण्डकी प्रदेश सरकारको रु ६० लाख र गाउँपालिकाको रु १२ लाखमा सडक स्तरोन्नति गरिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँडा मगरले जानकारी दिनुभयो । बागलुङ जिल्लाकै सबैभन्दा विकट मानिने निसेलढोर छ वर्ष अगाडिमात्रै मोटरबाटोले जोडिएको थियो । यस वर्ष सडक फराकिलो, नाली निर्माण र केही ठाउँमा ग्राभेलिङको काम गरिएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७६÷७७ मा ढोरपाटनदेखि निसेलढोर जोडिएको थियो । ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दामाथि सडक भासिने, हिलो हुने हुँदा गाडी नै गुड्न नसक्ने अवस्था थिएन ।

एमएस टीएएस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सले गत कात्तिक १२ गते जिम्मा पाएकामा वैशाख अन्तिम साता काम सकेको बाँठा मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडक स्तरोन्नतिको काम जेठ अन्तिम साता सक्नुपर्ने म्याद थियो, तर निर्माण कम्पनीले वैशाखमै काम सक्यो, यहाँको सडक धेरै साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्न कठिन थियो, अहिले सहज भएको छ, अब यो सडकमा बाह्रै महिना गाडी सञ्चालन हुन समस्या छैन ।”

सडक साँघुरो र अप्ठ्यारो हुँदा निसेलढोरमा बर्खाको करिब पाँच महिना सडक ठप्प हुँदै आएको थियो । सडक स्तरोन्नति भएपछि स्थानीय खुसी भएका छन् ।

स्थानीय सम्झाना रसाइलीले बर्खामा यातायता सञ्चालन नहुने हुँदा जेठमै पाँच महिनाका लागि खाद्यान्न ढुवानी गर्दै आएको भन्दै अब त्यो समस्या हट्ने आशा पलाएको बताउनुभयो । अहिले गाउँसम्मकै सडक फराकिलो र व्यवस्थित बनेको उहाँको भनाइ छ ।

“गाउँमा आउने सडक निकै अप्ठ्यारो हुँदा यहाँका जनताले धेरै दुःख पाएका थियौँ, अब त बर्खामा पनि गाडी चल्ने भयो”, उहाँले भन्नुभयो, “सडक खुलेदेखि अहिलेसम्म बर्खायाममा गाडी चल्न सकेको थिएन, यसपालि त सरकारले बाटो राम्रो बनाउनुभयो, गाडी आउला भन्ने लागेको छ ।”

एक दशक अगाडिसम्म यहाँ बर्खाको समयमा मात्रै निसीबाट वस्तुभाउ लिएर बस्ने स्थानीय अहिले बाह्रै महिना निसेलढोरमा बस्न थालेका छन् । अहिले बर्खामा ३०० र हिउँदमा झन्डै १५० घरपरिवार निसेलढोरमा बसोबास गर्छन् ।

निसेलढोरमा आलु, स्याउ र सिमीलगायत कृषिजन्य उत्पादन राम्रो हुने तर सडकको दुरावस्थाका कारण बजारीकरणका लागि समस्या थियो । अब सहज हुने स्थानीय कुमबहादुर घर्तीले बताउनुभयो । सडकको दुरावस्थाका कारण अहिलेसम्म स्थानीय उत्पादन बजारीकरण गर्न सकिएको छैन । रासस