काठमाडाैँ । जेठ १ गतेदेखि जनकपुरधाममा सातौँ ‘जनकपुर साहित्य महोत्सव’ आयोजना हुने भएको छ । नव मिथिला फाउण्डेसनको आयोजना तथा फ्याक्ट्स नेपालको प्रायोजनमा हुने उक्त महोत्सव जेठ ३ गतेसम्म महेन्द्र नारायण निधि भवनमा सञ्चालन हुनेछ । तीन दिवसीय यस महोत्सवको औपचारिक उद्घाटन जेठ १ गते दिउँसो २ बजे मधेस प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभले गर्ने कार्यक्रम तय भएको छ ।
महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा तथा संस्कृति लगायतका विविध क्षेत्रमा आधारित १३ वटा खुला प्यानल छलफल आयोजना गरिने आयोजक संस्थाका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए। महोत्सवका क्रममा ‘मैथिली कथाको नेपाली संसारः माटिक लोक’, ‘जनकपुरको कनेक्टिभिटी र पर्यटनको भविष्य’, ‘किन हुन्छ खेलकुदमा खेलवाड?’, ‘कसरी फर्काउने जनकपुरको शास्त्रार्थ?’ तथा ‘सञ्चारकर्मको बदलिँदो परिदृश्य’ लगायतका विषयमा बहस हुनेछ । त्यसैगरी, ‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमाः सम्भावना, चुनौती र मार्गचित्र’ र ‘नेपाली महिला लेखनः संघर्षदेखि सिर्जनासम्म’ जस्ता समसामयिक र प्राज्ञिक विषयमा समेत गहन विमर्श गरिने फाउण्डेसनले जनाएको छ ।
महोत्सवको विशेष आकर्षणको रूपमा जेठ २ गते बिहान ‘सम्पदा पदयात्रा’ (हेरिटेज वाक) आयोजना गरिनेछ । सम्पदाको महत्व, संरक्षण र अस्तित्वबारे जनचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिने उक्त पदयात्रामा करिब १२ सयदेखि १५ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । पदयात्रामा सहभागी हुनेहरूका लागि एकै प्रकारको पोशाक (युनिफर्म) को व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।











