काठमाडौँ: माननीय कसलाई भन्ने ? कहिलेदेखि माननीय भन्न थालियो ? सांसद, मन्त्री तथा संवैधानिक निकायका पदाधिकारीलाई माननीय भन्ने किन ? कुन कानुनले यस्तो भनेको छ र त्यसको अर्थ के हो ? कुनै राजनीतिक दलका सांसदलाई माननीय भन्नुपर्नाको कारण को होला ? सायद यी कुनै पनि प्रश्नको जवाफ भेटिँदैन होला ।
आज यो विषयको बहस सामाजिक सञ्जालमा निकै चलेको छ । कतिले सांसदलाई माननीय भन्नुपर्छ भन्ने तर्क गरेका छन् भने धेरैले जनताको मतले जितेको मानिस जनतासँगै रहने हो र जनताकै प्रतिनिधि हो भने उसलाई किन माननीय भन्नुपर्यो भन्ने तर्क गरेका छन् ।
प्रसंग विश्वराज पोखरेलओखलढुंगाका सांसदका कारण निस्किएको छ । ओखलढुंगाका सांसद विश्वराज पोखरेलले त्यहाँको एक स्थानीय विद्यालयका प्रधानाध्यापकलाई आफूलाई स्वागत गर्न नआएको झोँकमा खुबै रिसाएका छन् । उनले ती प्रधानाध्यापकलाई थार्काएर दिएको अभिव्यक्ति नै सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उनले आफूलाई किन स्वागत गर्न नआएको भनेर ती शिक्षकलाई खुब थर्काएका छन् । एउटा विद्यालयलाई विद्याको मन्दिर मानिन्छ । तर रास्वपाका ती सांसदले प्रधानाध्यापकलाई भने यसरी थार्काएका छन् कि मलाई तपाइँको सब कुरा थाहा छ हेुर्नुस् म भोलि के गर्छु भन्ने आसय त्यहाँ प्रष्टैसँग झल्किन्छ ।
उनी घरदैलो गरेर, जनतासँग हात जोडेर भोट मागेको दुई महिना पनि पुगेको छैन । तर, आज उनी सांसद भएपछि भने आफूलाई सम्मान र स्वागत गर्न नआएको भनेर विद्यालयका प्रधानाध्यापकलाई यसरी हप्काएका छन् । यसबाट उनले त्यसो भए झन् सर्वसाधारण नागरिकलाई अर्थात् आफ्ना मतदाताप्रति कस्तो व्यवहार गरिरहेका होलान् त भन्ने पनि अनुमान गर्न सकिन्छ ।
हिजोका दिनमा कांग्रेस, एमाले पार्टीका माननीयहरुले आफूलाई माननीय भनाउँन, पिर्कामा उभिएर सलामी लिन, जिल्ला जाँदा त्यहाँका सुरक्षा प्रमुखहरुको सलामी खान खुबै रुचाउँथे । हिजोका ती व्यवहारहरुलाई नयाँ नेपालको निर्माण गर्ने भनेर सशस्त्र द्धन्द्ध गरिरहेका माओवादीहरु मन पराउँदैनथे । उनीहरु जनताको पक्षमा बोल्थे र जनताले जिताएका नागरिकलाई माननीय भनिने प्रथाको विरोध गर्थे । भोलि आफूहरु नयाँ नेपालको सत्तामा पुगेपछि यी सब पुराना ढर्राहरुलाई खारेज गर्ने बताउँथे ।
तर बिडम्बना, उनीहरु सत्तामा पुगेपछि झन् ठूलो मान सम्मान खोज्न थाले । आफूले भनेको नमान्नेहरुमाथि हुर्मत लिन थाले । उनीहरुमा हिजोका पुराना भनिएका पार्टीहरुमा भन्दा कुनै फरक देखिएन । मानौँ कि उनीहरु नै नयाँ र छोटेराजाहरु जस्ता देखिए । सायद त्यसैले हुनसक्छ उनीहरु पनि जनताको पछिल्लो नजरमा तिनै पुराना पार्टी कांग्रेस एमालेजस्तै टाउसिएर गए ।
अहिलेको अवस्था त्यस्तै देखिँदैछ । किनभने अहिले सत्तारोहण गरेको नयाँ शक्तिले पनि हिजो चुनावअघि भन्ने गरेको माओवादीहरुले जस्तै हो । उनीहरु पनि पुराना ढर्रा नस्वीकार्ने र सत्ता र राज्य सञ्चालमा जनकेन्द्रित र नयाँपन दिने भन्ने नै नारा दिएर आएका हुन् । तर अहिले सत्तामा पुगेको केही दिनमै पुराना व्यवहार देखिन थालिसकेको छ । उही पुरानै शैली र व्यवहार दोहोरिन थालेका छन् ।
यता विश्वराजले गरेजस्तै उता सिन्धुली पुगेर रास्वपाकै अर्का सांसद खगेन्द्र सुनार र रिमा विश्वकर्माले पनि त्यस्तै जात्रा देखाएका छन् । जिल्ला प्रशासनको गेटमा धर्ना मात्र बसेनन् कि उनीहरुले त्यहाँका प्रहरी प्रमुखलाई घिसारेर बाहिर निकाल्ने भनेर सार्वजनिक रुपमा भाषण नै गरे ।
उनी सांसद हुन्, देशका विधायक । सायद उनीहरु अहिले पनि आफूहरुल अभियन्ता नै हौँ भन्ने चेतबाट बोलिरहेका छन् । देशको एकजना विधायकको हैसियत के हो र उसले कर्मचारीलाई यसरी घिसारेर सडकमा निकाल्ने भन्न मिल्छ कि मिल्दैन ? तर, उनीहरु अभियन्ताकै भाषामा बोलिरहेका छन् । यसबाट कुनै विधायकको भूमिकाको ज्ञान नभएको देखिँदैछ ।
हो, माननीय मननीय शब्द नै हो । जनताका प्रतिनिधिलाई यो उपाधि दिनु अस्वाभाविक पनि छैन । तर उनीहरु पनि माननीय हुनुपर्छ । अर्थात् कामका आधारमा उनीहरुलाई यो उपाधि दिनुपर्दछ । माननीय जनताले दिने उपाधि हुनुपर्छ जसलाई जनताले जसरी जिताए त्यसैगरी मान सम्मान पनि दिन सक्दछन् । यसको अर्थ हो कि उनीहरुलाई काम र व्यवहारका आधारमा यो उपाधि दिनुपर्दछ ।
तर, यसरी अहिले जस्तो माननीय शब्दकै हुर्मत लिने व्यक्तिलाई, आफूलाई मान सम्मान गर्न किन माला लिएर सडकमा नआएको भनेर विद्यालयको प्रधानाध्यापक जस्तो सम्मानित व्यक्तिलाई थर्काउने व्यक्तिलाई माननीय भन्नुपर्छ भन्ने छैन । उनीहरु अमाननीय हुन्, जसले आफैँले आफूलाई माननीय भनेर जनतासँग पनि त्यही भनिन अपेक्षा राख्दछन् र जनताको हुर्मत लिने काम गर्दछन् ।











