२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौराहामा आउने पर्यटकलाई चेपाङ खाना



अ+ अ-

चितवन । भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै सौराहामा आउने पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना खुवाउँदै उनीहरुको संस्कृति देखाउने तयारी गरिएको छ । दिनको समयमा निकुञ्ज सफारी गरेर रमाउने र साँझमा थारु संस्कृति हेर्नका लागि अहिले पर्यटक सौराहा आउने गरेका छन् ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार सौराहाबाट राप्ती नदी ड्यागको बाटो हुँदै लोथरसम्म रात्रिकालीन सफारी गर्ने तयारी गरिएको छ । करिब १८ किलोमिटरको दूरी हुने उहाँले जानकारी दिनुभयो । लोथर क्षेत्रमा चेपाङ संस्कृतिमा पर्यटकलाई आकर्षित गर्दै खाना खुवाइनेछ । चेपाङले वनमा फलेका र उब्जिएका अन्नपात, गिठ्ठा, भ्याकुरलगायतको खाना तयार गर्ने र सोही खानामा पर्यटक रमाउने अपेक्षा गरिएको छ ।

प्रमुख वनले रातको समयमा बत्तीको उज्यालोमा वन्यजन्तुको अवलोकन गर्दै पर्यटकलाई नयाँपन दिलाउन लागिएको जानकारी दिनुभयो । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले करिब तीन घण्टाको रात्रिकालीन सफारीसँगै चेपाङ संस्कृति र खानामा रमाएका पर्यटक फर्किएर सौराहामा बास बस्ने बताउनुभयो । यसबाट पर्यटकको बसाई लम्ब्याउन सकिने र नयाँपन दिन सकिने उहाँको भनाइ थियो ।

रात्रिकालीन सफारीका क्रममा पर्यटकले त्यस क्षेत्रका अन्य महत्वका क्षेत्र पनि हेर्न चाहेमा पाउनेछन् । केही दिनमा नै त्यस क्षेत्रको स्थलगत अध्ययन गरी भ्रमण वर्षसँगै नयाँ प्याकेजका रुपमा अघि सारिने उहाँको भनाइ थियो । लागत खर्चका आधारमा होटलले पर्यटकसँग रकम लिने छन् ।

यसैगरी सौराहा आसपासका थारु बस्तीमा पर्यटकलाई साइकलमा घुमाइनेछ । झुवानी, बच्छौली, थारु सङ्ग्रहालय, फसिहारा, भोकाहा, देवौली हुँदै सौराहासम्म साइकलमा पर्यटकलाई घुमाउने तयारी गरिएको छ । भट्टराईका अनुसार त्रिभुवन विमानस्थलसहित देशका ठूला विमानस्थल र महत्वपूर्ण ठाउँमा डिजिटल होर्डिङ बोर्ड राख्ने तयारी गरिएको छ । चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । चितवन राष्ट्रिय निकुञ्ज र यहाँभित्र रहेको दुर्लभ वन्यजन्तु पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएका छन् । हरेक वर्ष दुई लाख हाराहारी पर्यटक भित्रने यहाँ भ्रमण वर्षमा चार लाख पर्यटक भित्र्याउने लक्षका साथ काम अघि बढाइएको छ ।

जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य सौराहा रहेको छ । यससँगै चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रुपमा रहेका पटिहानी र मेघौलीमा पर्यटन पूर्वाधार बन्ने क्रम बढेको छ । गत वर्ष सरकारले छानेका १०० पर्यटकीय गन्तव्यमध्येको पटिहानी एक हो भने यस वर्ष प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्यको रुपमा मेघौलीलाई लिएको छ । यी दुवै ठाउँ भरतपुर महानगरपालिकामा पर्दछ । भरतपुर महानगरले भ्रमण वर्ष लक्षित गर्दै आफ्ना कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

नेपाल भ्रमण वर्ष सन् २०२० जिल्ला आयोजक समितिको आज यहाँ सम्पन्न बैठकले भ्रमण वर्षमा धेरै पर्यटक भित्र्याउनका लागि विभिन्न गतिविधि गर्ने निर्णय गरेको छ । समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बैठकमा जिल्लाका सातवटै पालिकाका पर्यटकीय गन्तव्यको स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका लागि विभिन्न गतिविधि अघि बढाउने निर्णय भएको जानकारी दिनुभयो । सौराहामा रात्रिकालीन जीपदेखि इच्छाकामनामा स्वागतसम्मका गतिविधि गरिने भएका छन् । कुन–कुन कार्यक्रम कसरी गर्ने भन्ने टुङ्गो केही दिनमा लगाइने उहाँले बताउनुभयो ।

बैठकमा रत्ननगर नगरपालिकाका प्रमुख वन, इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईलगायतले भ्रमण वर्ष लक्षित गरी भएका कामका बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी र मिलनबाबु श्रेष्ठले भ्रमण वर्षमा पर्यटकको बसाई लम्ब्याउन र सङ्ख्या बढाउन गरिने गतिविधिमा आवश्यक सहयोगका लागि आफूहरु सकारात्मक रहेको जानकारी दिनुभएको डल्लाकोटीले बताउनुभयो ।