म्यान्चेस्टरः इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले आफ्नै गृह मैदानमा आइतबार साँझ भएको खेलमा लेस्टर सिटीलाई ६-३ गोल अन्तरले पराजित गरेको छ ।
एतिहाद रंगशालामा झण्डै ५३ हजार दर्शकसामु भएको खेलमा शुरुदेखि नै म्यान्चेस्टरले लेस्टरमाथि दबाब बनाएको थियो । सिटीका लागि खेलको पाँचौं मिनेटमै केभिन ब्रुएनले लेस्टर विरुद्ध पहिलो गोल गरेका थिए ।
त्यसपछि पनि सिटी रोकिएन । सिटीका लागि १४औं मिनेटमा रियाद महारेजले पेनाल्टी मार्फत दोस्रो, २१औं मिनेटमा एल्के गुन्डोगानले तेस्रो र २५औं मिनेटमा रहिम स्टर्लिङले चौथो गोल गरेका थिए । अर्थात् पहिलो हाफमै सिटीले चार गोल गरेर खेललाई आफ्नो पक्षमा पारिसकेको थियो ।
सिटीका लागि दोस्रो हाफको ६५औं मिनेटमा आइमेरिक लापोर्टेले पाँचौं तथा ८७औं मिनेटमा फेरि रहिम स्टर्लिङले गोल गरेका थिए ।
लेस्टरका लागि जेम्स म्याडिसन, अडामाला लूकम्यान र केलिची इनियाचोले ५५, ५९ र ६५औं मिनेटमा गोल गरेका थिए ।
यो जितसँगै म्यान्चेस्टर सिटीले पहिलो स्थानलाई अझ सुदृढ बनाएको छ । सिटीले १९ खेलबाट ४७ अंक बनाएको छ ।
अन्य खेलहरु
आइतबार साँझ नै भएका अन्य खेलहरुमा आर्सनलले नर्विचलाई ५-० गोल अन्तरले पराजित गरेको छ भने टोटेनह्यामले क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा दुई वटा पहेंलो कार्ड पाएर प्यालेसका फर्वार्ड विलफ्राइड जाहाले मैदान छाड्नु परेको थियो ।
यस्तै चेल्सीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेर लिगमा फर्कने सम्भावना जीवितै राखेको छ ।
अंक तालिका
१. म्यान्चेस्टर सिटी —– ४७ अंक— (१९ खेल)
२. लिभरपुल —— ४१ अंक——- (१८ खेल)
३. चेल्सी ——– ४१ अंक——- (१९ खेल)
४. आर्सनल ——– ३५ अंक—— (१९ खेल)
५. टोटेनह्याम —– २९ अंक—— (१६ खेल)