२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंकर पोखरेलको संकल्प पत्र सार्वजनिक ‘पाँच वर्ष–पाँच क्रान्ति’:दाङ रूपान्तरणको मुख्य एजेन्डा



अ+ अ-

दाङ । नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले “दाङको विकास, दाङबासीको सम्मान–सबल दाङ, समृद्ध नेपाल” मूल नारासहित विस्तृत र बहुआयामिक संकल्प पत्र सार्वजनिक गरेका छन् ।

संकल्प पत्र सार्वजनिक गर्दै उनले दाङ अहिले “टर्निङ पोइन्ट” मा उभिएको उल्लेख गर्दै अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पछाडि फर्कने बीचको छनोट भएको बताए ।

पोखरेलले आफूले अघि सारेका प्रतिबद्धतामध्ये अधिकांश पूरा गरेको दाबी गर्दै अधुरा योजना सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गरेका छन् । उनले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने संकल्प सफलतापूर्वक पूरा गरिएको उल्लेख गरे ।

संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गरेको, राजधानीको गुरुयोजना निर्माण गरी प्रदेशसभा भवन तथा स्थायी पूर्वाधार निर्माणको प्रक्रिया सुरु गरिएको उनले बताए । पोखरेलले दाङको दीर्घकालीन पूर्वाधार विकासको आधार तयार पारिएको दाबी गर्दै घोराही–तुलसीपुर चारलेन सडक समयमै निर्माण सम्पन्न गर्ने, घोराही–लमही सडक खण्डअन्तर्गतको अर्जुनखोला–मसौट तथा चौपट्टा खण्डका चारलेन सडकको डीपीआर तयार गरिएको र वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

३५० बिगाहा क्षेत्रफलमा घोराही औद्योगिक क्षेत्र स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढेको र डिपिआर तयारी तीव्र रूपमा भइरहेको उनले उल्लेख गरे । ग्वार खोला हाई ड्याम र माडी डाइभर्सन आयोजनाका लागि बजेट विनियोजन र अध्ययन कार्य अघि बढाइएको पनि उनको भनाइ छ ।

स्वास्थ्य क्षेत्रतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र एमडी अध्ययन सुरु हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको उनले बताए । लमहीमा ट्रमा सेन्टर स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको तथा यसै आर्थिक वर्षभित्र सेवा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पस निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको र उच्च प्राविधिक शिक्षाको आधार तयार गरिएको उनको भनाइ छ । कृषि, खानेपानी र सामाजिक पूर्वाधारतर्फ स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत उत्पादन वृद्धि र किसानको आयवृद्धिमा उपलब्धि हासिल भएको उनले बताए ।

दाङमा खानेपानी तथा सरसफाइ क्षेत्रमा करिब दुई अर्ब लगानी भएको र जिल्ला अस्पतालहरूलाई ५० शैयासम्म स्तरोन्नति गरिएको उल्लेख गरे । अम्बिकेश्वरी मन्दिर, छिल्लिकोट, धारपानीलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा महत्वपूर्ण काम भएको र भुमिहीनलाई लालपुर्जा वितरणका लागि आयोग गठन गरी काम सुरु गरिएको उनले जानकारी दिए ।

हाल लमही–घोराही–तुलसीपुर फोरलेन सडक पुनः सुरु भई तीव्र गतिमा अघि बढिरहेको, घोराही–५ धर्नास्थित नेत्रलाल पार्क निर्माणाधीन रहेको तथा वडा नं. १६ मा नेत्रलाल बहुउद्देश्यीय रंगशालाको निर्माण सुरु गरिएको उनले बताए । सेवार, हापुर र कालाखोलामा चारलेन पुल निर्माण भइरहेको उल्लेख गर्दै उनले मध्य दाङको सडक सञ्जाल मजबुत बनाउनु अपरिहार्य रहेको धारणा राखे ।

आफू राजनीतिक रूपमा स्थापित भइसकेको अवस्थामा अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै पोखरेलले केन्द्रमा सशक्त उपस्थिति बिना दाङले अपेक्षित बजेट र प्राथमिकता पाउन नसक्ने बताए । कोइलाबास नाका सञ्चालन, औद्योगिक क्षेत्र विस्तार र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै उनले आफूलाई विजयी बनाउन मतदातासँग आग्रह गरेका छन् ।

पाँच वर्षमा पाँच क्रान्ति मुख्य एजेन्डा
पोखरेलले आफ्नो संकल्प पत्रको केन्द्रीय प्राथमिकताका रूपमा “पाँच वर्षमा पाँच क्रान्ति” लाई अघि सारेका छन् । उनले दाङलाई तीव्र विकासको मार्गमा अघि बढाउन आर्थिक तथा पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सुशासन क्षेत्रमा एकसाथ रूपान्तरण आवश्यक रहेको बताएका छन् ।

पोखरेलका अनुसार पहिलो क्रान्ति आर्थिक तथा पूर्वाधार क्षेत्रमा केन्द्रित हुनेछ, जसअन्तर्गत सडक सञ्जाल विस्तार, औद्योगिक क्षेत्र निर्माण, जलाशय तथा सिँचाइ आयोजना कार्यान्वयन र लगानीमैत्री वातावरण सिर्जना गरिनेछ ।

दोस्रो शैक्षिक क्रान्तिमार्फत दाङलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्दै डिजिटल शिक्षा, प्राविधिक अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिइनेछ ।

तेस्रो स्वास्थ्य क्रान्तिअन्तर्गत जिल्ला अस्पतालहरूको स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार, मेडिकल कलेज पूर्वाधार निर्माण र सबै नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने योजना छ । चौथो प्रविधि क्रान्तिमार्फत ई–गभर्नेन्स, डिजिटल सेवा विस्तार, नवप्रवर्तन केन्द्र स्थापना र युवालाई प्रविधिमैत्री अवसर सिर्जना गरिने बताइएको छ ।

पाँचौँ सुशासन क्रान्तिअन्तर्गत भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति, पारदर्शी प्रशासन र परिणाममुखी कार्यसंस्कृति विकास गरिने लक्ष्य राखिएको छ ।

पोखरेलले यी पाँच क्रान्तिलाई दाङको दीर्घकालीन समृद्धिको आधार स्तम्भका रूपमा प्रस्तुत गर्दै मतदातालाई विकास र स्थायित्वको पक्षमा उभिन आग्रह गरेका छन् । उनका अनुसार पाँच वर्षभित्र संरचनात्मक परिवर्तन ल्याएर दाङलाई प्रदेश मात्र होइन, राष्ट्रिय विकास–मोडेलका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।