१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् आपूर्ति नहुँदा समस्या



अ+ अ-

पाल्पा । नियमित विद्युत् आपूर्ति नहुँदा उपभोक्ता समस्यामा परेका छन् । वर्षासँगै विद्युत् आपूर्तिमा समस्या हुँदा उपभोक्ता हैरानी भोग्ने बाध्य छन् । जिल्लामा अहिले लोडसेडिङ नभए पनि पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता समस्या झेल्न बाध्य छन् । कहिले र कति बेला विद्युत् अवरुद्ध हुन्छ, पत्तो नहुँदा उपभोक्ता विद्युत् उपभोगको समस्याबाट ग्रस्त छन् ।

हल्का हावाहुरी र वर्षा हुनासाथ विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको छ । अस्तव्यस्त विद्युत्लाइन विस्तार र पुराना काठका पोलका कारण नियमित विद्युत् आपूर्तिमा चुनौती बनेको छ । नियमित विद्युत् आपूर्ति नहुँदा सरकारी कार्यालयमा सेवाग्राहीलाई झन समस्या हुने गरेको छ ।

पछिल्लो समय अधिकांश सरकारी कार्यालयमा अनलाइन प्रणाालीबाट कार्यसम्पादन गर्दा विद्युत् नहुँदा टाढाबाट आएका सेवाग्राहीलाई सास्ती हुने गरेको छ । प्रजिअ उमेशकुमार ढकालका अनुसार विद्युत् नियमित आपूर्ति नहुँदा सयौं सेवाग्राही काम नगरी घर फर्किन बाध्य हुनुपर्ने अवस्था छ । उहाँले विद्युत् आपूर्ति नियमित बनाउन जिल्ला विद्युत् प्राधिकरणलाई निर्देशनसमेत दिनुभएको छ ।

विद्युत् प्राधिकरणका प्रमुख सुशील पौडेलका अनुसार पुरानो लाइन विस्तार र पुराना पोलका कारण नियमित विद्युत् आपूर्तिमा समस्या देखिएको छ । बुटबलबाट लाइन ल्याउनुपर्ने बाध्यताका कारण पनि नियमित रूपमा विद्युत् आपूर्ति हुनसकेको छैन । बुटबलबाट पटक–पटक लाइन काटिने समस्या छ ।

दुरसञ्चार कार्यालयका प्रमुख सन्तोष भण्डारीले विद्युत् भएको क्षेत्रमा मात्र सहजरूपमा फोन र इन्टरनेट सेवा प्रवाह हुने बताउनुभयो । उहाँले विद्युत् सेवा बिना फोन र इन्टरनेट सञ्चालनमा ल्याए पनि समस्या रहेको जानकारी दिनुभयो । जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेटको सहज पहुँच छैन ।