९ असार २०८३, मंगलवार
,
Latest
‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम बदली : कुन-कुन जिल्लामा भयो वर्षा र हिमपात ?



अ+ अ-

काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझबाट सुरु भएको बदली आज दिनभर नै कायम भएको थियो ।

वर्षा भने आज अपराह्नबाट रोकिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम बदली कमजोर बन्दै गएको बताउनुभयो । यद्यपि, छिटपुट रूपमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य वर्षा र हिमपात आइतबारसम्म कायम रहने उहाँले जानकारी दिनुभयो ।

विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर वर्षा भएको छ ।

यो मध्यम वर्षा हो । यस्तै, दार्चुलामा १७ दशमलव आठ, बैतडीमा २६, डोटीमा २०, बझाङमा १६ दशमलव दुई, कञ्चनपुरमा नौ दशमलव चार, अछाममा १२ दशमलव छ, कालीकोटमा १९ दशमलव चार, दैलेखमा १४ दशमलव तीन, जुम्लामा १२ दशमलव सात, मुगुमा १२, डोल्पामा १३ दशमलव पाँच मिलिमिटर वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ ।

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।

आज साँझ सार्वजनिक गरिएको बुलेटिनमा हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव कायम रहेकाले कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागिरहेको छ ।

आज राति देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यस्तै, आइतबार देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य तराई भू–भागका थोरै स्थानमा बिहानीपख हुस्सु रहने जनाइएको छ ।