८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसका विषयमा विशेष ध्यान दिनुहोस् : मन्त्री भट्टराई



अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटकीय क्षेत्रमा कोरोना भाइरस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ ।

सोमबार पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रका संस्थाहरुलाई कोरोना भाइरसका विषयमा विशेष ध्यान दिन निर्देशन दिनुभएको हो । उहाँले नेपाल अहिले पनि पर्यटनका लागि हरेक हिसाबले सुरक्षित गन्तब्य भएको र कोरोना भाइरसको सन्दर्भमा पनि सुरक्षित छ भन्ने सन्देश दिन उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो । त्यसका लागि पर्यटकहरु आउने नाकाहरुमा आवश्यक सतर्कता अपनाउन निर्देशन दिनुभएको हो ।

मन्त्री भट्टराईले पर्यटकीय क्षेत्र पोखरा, लुम्बीनि, चितवन, जनकपुर, पशुपतिनाथ लगायतका ठाउँमा पर्यटकहरु पुग्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विामानस्थलमा डेडिकेटेड हेल्थ डेस्क राखिएको बताउनुभयो । उहाँले पहिला सानो भएको डेस्कमा अहिले कोरोना भाइरसलाई ध्यान दिंदै थप कोठा उपलब्ध गराउने र इक्युपमेन्ट राख्ने काम भइसकेको समेत बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका महानिर्देशक देवेन्द्र केसीले विमानस्थलमा उच्च सतर्कता अपनाइएको बताउनुभयो । उहाँले यात्रुहरुलाई ज्वरो आएको वा अन्य कुनै आशंका भएको पाइएमा अलग राख्ने र अस्पतालसम्म तुरुन्तै लैजाने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले यात्रुसँग भेटने कर्मचारीहरुलाई पनि उच्च सतर्कता अपनाउन मास्क र पन्जा प्रयोग अनिवार्य गरिएको समेत बताउनुभो ।

कोरोना भाइरसबाट नेपालको पर्यटकीय क्षेत्रमा पर्नसक्ने असरका विषयमा मन्त्रालयले विशेष चासो दिएकोले उपत्यका बाहिर पनि अस्तपाल तोकेर उपचार गर्न लागिएको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीहरुले पर्यटकलाई कुनै समस्या देखिए वा कोरोना भाइरस सम्बन्धी लक्षणहरु देखा परे तत्काल अस्पताल सम्म पु¥याउने तथा पर्यटकीय क्षेत्रमा कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा प्रचार प्रसार गर्न निर्देशन दिनुभयो ।