६ असार २०८३, शनिबार
,
Latest
मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण



अ+ अ-

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ ।

सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहासिक महत्वको मन्दिर पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माणपछि मन्दिर आकर्षक देखिएको छ ।

बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले विसं १९३० को दशकमा स्थापना र १९८० को दशकमा निर्माण भएको गणेश मन्दिरलाई गुठीयार र नगरपालिकाको करिब रु २० लाख २५ हजार लगानीमा पुनर्निर्माण गरिएको जानकारी दिनुभयो ।

“पुरानो मन्दिरलाई भत्काएर भक्तपुरे इँटा र बुट्टे काठको प्रयोग गरेर निर्माण भएको मन्दिरको छाना पित्तलले छाइएको छ”, उहाँले भन्नुभयो, “बेनी नगरपालिकाले गत आर्थिक वर्षमा रु छ लाख अनुदान उपलब्ध गराएको थियो । समुदायले अनुदानभन्दा बढी सहयोग जुटाएका छन् ।”

हालसम्म रु १९ लाख ९३ हजार ७९५ खर्च, रु १७ लाख ६९ हजार ९७४ आम्दानी र रु दुई लाख २३ हजार ८२१ भुक्तानी दिन बाँकी रहेको निर्माण समितिका किशोर श्रेष्ठले बताउनुभयो । मन्दिरको वरपर राखिएको बत्ती बाल्ने दियोको खर्च जोड्दा कूल रु २० लाख २५ हजार पुग्ने उहाँले बताउनुभयो ।

बेनीका स्व मोतिकुमार श्रेष्ठले गुठी स्थापना गरेर गणेश मन्दिर बनाउनुभएको थियो । मन्दिर जीर्ण भएपछि निर्माणकर्ता मोतिकुमारका छोरा जयन्द्र श्रेष्ठ राजभण्डारीलगायत परिवारसँग समन्वय गरेर पुनर्निर्माण गरिएको हो ।

मन्दिर पुनर्निर्माणमा जुटेको रकममा मोतिकुमारका परिवारका सदस्य र आफन्तहरुको योगदान बढी छ । प्रत्येक दिन नित्य पूजा हुने गणेश मन्दिरमा गणेशचौथी र मङ्गलचौथी तिथिमा विशेष पूजाआजा हुने गर्छ । पुनर्निर्माण सकिएपछि यसै हप्ता हिन्दू धर्मावलम्बीहरुको भगवान् गणेशको मूर्तिको प्राण प्रतिष्ठा गरेर नियमित पूजाआजा सुरु गरिएको छ ।

यहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । बेनी बजारमा हरेक वर्षको घण्टा कर्ण चतुर्थीदेखि हरितालिका तीजसम्म देखाइने बर्खे नाचको समापन यही गणेश मन्दिर परिसरमा गरिन्छ ।

गणेश मन्दिर बेनी बजारको पुरानो धार्मिकस्थल हो । बेनी भ्रमणमा आउने पाहुना र पर्यटकका लागि गणेश मन्दिर र नजिकैको बेनीकोत आकर्षण हो । रासस