१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखा र जुम्लाको तापक्रम माइनसमा



अ+ अ-

काठमाडौँ। नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला आज दुई वटा जिल्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा आज दोलखास्थित जिरीको तापक्रम पनि माइनसमा झरेको छ ।

विभागमा आज साँझ रेकर्ड भएको अभिलेखअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ५ दशमलव २ डिग्री र दोलखाको जिरीमा न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ मा झरेको छ । जाडो सिजन लागिसकेको र चिसो बढ्ने क्रममा रहेको विभागले जानकारी दिएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले हिजो अस्ती जुम्लाको न्यनतम तापक्रम माइनस २ देखि ३ सम्म रहेकामा आज तापक्रम घटेर माइनस ५ दशमलव २ मा पुगेको हो ।

पछिल्लो एक÷दुई दिनमा राति बादल भएकाले बढी चिसो महसुस भएको छ । दिउँसोमा भने धेरैजसो स्थानमा घाम लाग्दा न्यानो महसुस हुने गरेको छ । आज पनि काठमाडौँ उपत्यकालगायत ठाउँमा बिहानभर बादल लागेर चिसो महसुस गराएको उहाँले बताउनुभयो ।

“रातिमा बदली हुँदै र दिन बढ्दै जाँदा खुल्दै गइरहेको छ । उपत्यका र तराईमा वायुप्रदूषण पनि रहेको छ”, मौसमविद् झाले भन्नभयो, “जनावरीमा अझ तापक्रम घट्दै जानेछ, अहिले बङ्गलाको खाडीमा बनेको न्यूनचापीय प्रणालीले असर गरेको छ । अलीअली पाकिस्तान क्षेत्रमा पनि न्यूनचापीय क्षेत्रका कारण पश्चिमी वायु पनि बन्दैछ । त्यसले पनि असर गरिरहेको छ ।”

विभागको विवरणमा काठमाडौँमा न्यूनतम तापक्रम ८ दशमलव ५ रहेको छ । नेपालगञ्जमा न्यूनतम तापक्रम १२ रहेको छ । पोखरामा न्यूनतम तापक्रम ११, भैरहवामा १३, जनकपुरमा न्यूनतम तापक्रम १२ डिग्री रहेको छ । यस्तै ताप्लेजुङमा न्यूनतम तापक्रम ९ डिग्री रहेको छ भने जुम्लामा न्यूनतम तापक्रम माइनस ५ दशमलव २ डिग्री रहेको छ । रासस