४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

एकसय वर्ष पुरानो भुत्तेको जेरी पसल

एकसय वर्ष पुरानो भुत्तेको जेरी पसल
अ+ अ-

पोखरा । पोखराको भीमसेन टोलमा एक पुरानो घर छ, सामान्य मर्मत गरिएको तर घरभित्र १०० वर्षको इतिहास छ । बिहानैदेखि यहाँ मानिसको भीड लाग्छ । कतिपयलाई थाहा नहुन सक्छ, किन भीड ? बाहिर न त ठूलो साइनबोर्ड छ, न कुनै ब्यानर । तर भित्र छ पोखराको सबैभन्दा पुरानो र प्रसिद्ध ‘भुत्तेको जेरी पसल ।’ तातो तेलको गन्ध, चिनीको मीठाससँगै त्यहाँबाट निस्कने धुँवा समेत विशेष लाग्छ । एउटा विशेष स्वादको लागि मानिसहरू घण्टौँ कुर्न तयार हुन्छन् । स्वादिलो जेरीसँग मुख मिठो बनाउन आतुरहरुमा निकै शालिनता र धैर्यता देखिन्छ ।

भुत्ते जेरीको कथा सुरु हुन्छ सिद्धिलाल चुल्याजुबाट । उहाँ १९७० सालमा रोजगारको सिलसिलामा म्यानमार (बर्मा) पुग्नुभएको थियो । सिद्धिलालले त्यहाँ सिकेको पाककला लिएर नेपाल फर्केपछि १९७२ सालमा पोखराको पुरानो भीमसेन टोलमा भुत्तेको मिठाई पसल सञ्चालन गर्नुभयो । व्यवसाय यति लोकप्रिय भयो कि सिद्धिलाललाई ‘भुत्ते साहु’ भनेर चिनिन थालियो । त्यही नाम समयसँगै रूपान्तरित हुँदै आजको ‘भुत्तेको जेरी पसल’ बन्न पुग्यो ।

हजुरबुबादेखि छोरासम्म अनि अहिले नातिसम्म यो व्यवसाय घरकै हातले चल्दै आएको छ । सिद्धिलालको निधनपछि आमा मिश्रीमायाले पनि छोराहरुको साथमा व्यवसाय चलाउनुभयो । आमाको पनि निधनपछि कान्छा छोरा राजकुमार चुल्याजुले पुख्यौली थलोमा व्यवसाय सम्हाल्नुभयो । अहिले उहाँको श्रीमती र छोरा एलिस पूर्ण रूपमा सोही व्यवसायमा संलग्न हुनुहुन्छ । तीन पुस्तासम्म जोडिएको यो व्यवसाय आज पोखराको पहिचान र ‘ब्राण्ड’ बनेको छ ।
व्यवसायमा चुल्याजु परिवारको आफ्नै समय तालिका छ । बिहान ८ बजेदेखि १२ बजे र बेलुका ४ः३० देखि साँझ ६ः३० बजेसम्म पसल खुला हुन्छ । अधिकांश नेपाली युवाहरू दीर्घकालीन काममा नटिक्ने र विदेश जान नै हतारिने हुँदा चुल्याजु परिवारले अरुमा निर्भर नभई परिवारको जनशक्तिलाई उपयोग गरेर व्यवसाय चलाइरहनुभएको छ ।

“यो त खानेकुराको पसल होनी, एकपटक खाएपछि अर्को दिन आफन्त साथीभाइलाई लिएर आउनुहुन्छ, यो खोज्दै–खोज्दै खानु पर्ने जेरी हो, त्यसैले यसको नाम ‘हन्टिङ जेरी’ हो” राजकुमारले हास्ँदै साइनबोर्ड नराख्नुको कारण सुनाउनुभयो । “माग बढ्ने बेला त भ्याइनभ्याइ हुन्छ । तर स्वाद, आकार र परम्परामा कहिल्यै सम्झौता गरेका छैनौँ र गर्दैनौँ पनि”, उहाँ थप्नुहुन्छ ।

विसं २०१७ मा राजा महेन्द्र पोखरा भ्रमणमा आउँदा सिद्धिलालले रोटीको निकै आर्कषक द्वार बनाउनुभएको थियो रे । त्यो द्वार हेरेर राजा अत्यन्त खुसी भई रत्न मन्दिरमा बोलाएर बक्सिस दिएको विषय आज पनि चुल्याजु परिवारका लागि गर्वको इतिहास बनेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विन्ध्यवासिनी पैदलयात्राको क्रममा यहाँको जेरी खानुभएको थियो । त्यो पलसमेत उहाँहरूले निकै स्मरण गर्नुहुन्छ । चर्चित सेलब्रेटी, पत्रकारहरु पनि सोध्दैखोज्दै आउने गरेको अनुभव राजकुमारले सुनाउनुभयो ।

दसैँ, तिहारमा थेगी नसक्नुको भीड हुन्छ । विदेशबाट घर आएकाहरुका लागि अझ विशेष स्थान बनेको छ यो ठाउँ । भुत्तेको जेरी खाएका मात्र होइन, नाम सुनेका पनि एकपटक ‘भुत्तेको जेरी’ खोज्दै पोखराको पुरानो भीमसेन बजारमा आइपुग्छन् । “देश विदेशबाट भुत्तेको जेरी कहाँ छ ? भनेर खोज्दै आउँदा निकै खुशी लाग्छ”, राजकुमार भन्नुहुन्छ । “पहिले जेरी दाउरामा पोलिन्थ्यो, शुद्ध घिउमा हुन्थ्यो, महमा भिजाइन्थ्यो तर समयसँगै अब घिउ, मह नै साह्रै महँगो हुन थाल्यो, चिनी र तेल प्रयोग हुन्छ । तर स्वाद गुम्न नदिउँ भनेर हामी दिनरात मेहनत गर्छौँ । रङ प्रयोग गर्दैनौँ । ठूलो, आकर्षक बुट्टा भएको जेरी बनाउँछौँ, ग्राहकले मनपराउनु भएको छ ।” यहाँ जेरीसँगै लाखमरी, खजुर, लालमोहन, फिनी, अनरसासमेत तयार हुन्छन् ।

नेवारी समुदायका पाठपूजा, वार्षिक पूजा हरेकमा यहाँका परिकारको माग निकै बढ्ने गरेको राजकुमारकी श्रीमती दयालक्ष्मी चुल्याजु बताउनुहुन्छ । “चाडपर्व नेवारी समुदायको पर्वहरुमा माग बढी हुन्छ”, उहाँ भन्नुहुन्छ । सासु–ससुराको व्यवसायलाई निरन्तरता दिएर ग्राहकको मन जित्न पाउँदा निकै आनन्द लाग्ने उहाँ बताउनुहुन्छ । हजुरबुबाले सन् १९१६ मा सुरु गरेको यो व्यवसायले निरन्तरता दिन पाउनु नै ठूलो अवसर हो”, राजकुमारका छोरा एलिस गर्वका साथ बताउनुहुन्छ । एलिसले व्यसायलाई विस्तार गर्दै अझ व्यवस्थित गर्ने सोच भने रहेको बताउनुभयो ।

झण्डै ४४ वर्षपछि भुत्तेको जेरीको स्वाद खोज्दै आउनुभएका भाइरोलोजिष्ट डा विष्णु उपाध्याय छोरा–नातिले निरन्तरता दिएको देख्दा निकै खुसी लागेको बताउनुहुन्छ । “म २०३८÷३९ सालतिर म पोखराको रामघाटस्थित चिकित्सा शास्त्र अध्ययन संस्थामा थिएँ, त्यतिबेला यहाँको जेरी खुब खान आउँथे, आज ४४ वर्षपछि पुनः पोखरा आउँदा मलाई त्यो स्वादको याद आयो, यहाँ आएर जेरी खान पाउँदा निकै खुशी लाग्यो ।” भुत्तेको जेरी केबल मिठाई होइन, यो परम्पराको निरन्तरता, परिवारको श्रम र पोखराको पहिचान भएको बताउनुहुन्छ पोखराका अग्रज पत्रकार नारायण कार्की । “घण्टौँ पर्खेर खाने धैर्यता यसको स्वाद नै हो, तीन पुस्ता जोडिएको भुत्तेको जेरी पसल अहिले ‘ब्राण्ड’ बनेको छ । यो बाजेको पेसाप्रतिको नाति पुस्ताले देखाएको चासो र निरन्तरता निकै सकारात्मक र प्रेरणादायी पक्ष हो ।” रासस