काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङको संरक्षकत्वका गठन भएको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदैछ ।
उज्यालो नेपाल पार्टीले दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञाभवन कमलादीमा घोषणा गर्न लागेको जानकारी दिएको हो ।
निर्वाचन आयोगमा दल दर्ता गराउन जाँदै अनुपस्थित भएका घिसिङ आज भने कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहने छन् ।
कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ ।
पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने पार्टीको तयारी छ ।
पार्टीले यसअघि मंसिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो । पार्टीले आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व गर्ने बताएको थियो ।










