२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै निजी अस्पतालमा १० शय्या छुट्याउन निर्देशन



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न राख्न निर्देशन दिएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेकाले जुनसुकै समयमा पनि समस्या उत्पन्न हुन सक्ने भन्दै सचिव कोइरालाले निजी अस्पतालले आपतकालीन सेवाअन्तर्गत १० शय्या खाली गर्नुपर्ने र नगरिए कारबाही गरिने चेतावनी दिए । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त सचिव कोइरालाले अस्पतालहरू सेवामुखी हुनुपर्ने बताए ।

पदभार कार्यक्रम पछि निजी अस्पताल सञ्चालकसँगको भेटमा सचिव कोइरालाले कोरोना भाइरस संक्रमण फैलिएमा नियन्त्रण गर्न सरकारी र निजी संयन्त्रलाई समन्वयात्मक रूपमा परिचालन गरिने बताए । उनले नेपालमा कोरोना भाइरसको उच्च जोखिम भनि एपनि आत्तिन नपर्ने र सम्भावित समस्याको समाधान गर्न सरकार सक्षम रहने दाबी गरे । ‘कसैमा कोरोना भाइरस देखियो भने पनि उपचारका सबै व्यवस्था मिलाउने गरी आवश्यक रणनीति बनाउँछौं त्यसैले कोही पनि आतंकित हुनुपर्दैन,’ सचिव कोइरालाले भने ।

सचिव कोइरालाका अनुसार कसैमा कोरोना भाइरसको संक्रमण देखिएमा उपचारका लागि काठमाडौंका सबै निजी अस्पताललाई समेत १० शय्या खाली गर्नुपर्ने गरी सर्कुलर जारी गरिनेछ । सोहीअनुसार निजी अस्पतालले अनिवार्य रूपमा उपचार गराउनुपर्ने निर्णय गरिनेछ । ‘प्रत्येक निजी अस्पतालले कम्तीमा १० जनालाई उपचार गर्ने गरी अहिलेदेखि नै कम्तीमा १० शय्याको व्यवस्थापन गर्न भनेका छौं । अस्पतालले त्यसो गरेनन् भने कडा कारबाही गरिनेछ,’ सचिव कोइरालाले भने । सचिव कोइरालाले कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिँदै गएकाले नेपालमा फैलन नदिन सबै रणनीति र उपाय अवलम्बन गरिने बताए ।

मन्त्रालयले पूर्वसचेतनाका सबै कार्यक्रम सञ्चालन गर्ने गरी आवश्यक गृहकार्य अघि बढाएको कोइरालाले जानकारी दिए । सचिव कोइरालाले सरकारी नियमअनुसार निजी अस्पतालले गरिब विपन्नका लागि निःशुल्क छुट्याउने भनिएको शय्याको वास्तविक उपयोग भए–नभएको बारेमा अनुगमन गर्ने गरी छिट्टै विशेष योजना ल्याइने बताए । कोइरालाका अनुसार अधिकांश अस्पतालले विपन्न गरिबलाई निःशुल्क शय्या उपलब्ध गराएका छैनन् । त्यसरी शय्या उपलब्ध नगराउने अस्पतालको पहिचान गरी उनीहरूमाथि आवश्यक कानुन कारबाही गरिने सचिव कोइरालाले बताए ।

सचिव कोइरालाका अनुसार चिकित्सकले सरकारी अस्पतालमा कम र निजी अस्पतालमा बढी समय दिने गरेका गुनासोसमेत अत्यधिक आउने गरेका छन् । कोइरालाले सरकारी काममा ठगी गर्ने चिकित्सकलाई पहिचान गरी कारबाही गरिने बताए । यसका लागि आवश्यक गृहकार्य गर्न सचिव कोइरालाले मन्त्रालयका शाखा तथा महाशाखा प्रमुखलाई आवश्यक निर्देशनसमेत दिइसकेका छन् । यस्तै, सचिव कोइरालाले मन्त्रालयमा हरेक निर्णय र कार्य पारदर्शिताका आधारमा हुने र अपारदर्शिता मान्य नहुने चेतावनी दिए । स्वास्थ्य क्षेत्र लामो समयदेखि धेरै विकृति आएको गुनासो सर्वसाधारणको छ ।

‘स्वास्थ्य मानिसको आधारभूत र अत्यावश्यक क्षेत्र हो त्यसैले यस क्षेत्रमा व्याप्त विकृति नहटाई समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न नसकिने हुँदा सोहीअनुसारको रणनीति बनाइनेछ,’ सचिव कोइरालाले भने । सरकारी अस्पतालमा पनि शय्याहरू लुकाउने गरिएको र सोर्सफोर्सका आधारमा मात्रै शøया पाउने गुनासा अत्यधिक छ । यस्तै, सर्वसाधारणले भेन्टिलेटरको सुविधा पाउन निकै कठिन हुने गरेको छ । सचिव कोइरालाले शय्या लुकाउने र सोर्सफोर्स चाहिने परिपाटी अन्त्य गरिने बताए । सरकारी अस्पतालमा सर्वसाधारणका लागि भेन्टिरलेटरको पहुँचलाई वृद्धि गर्ने गरी आवश्यक कार्ययोजना ल्याइने सचिव कोइरालाले जानकारी दिए । राजधानी दैनिक