२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनले काठमाडौं र कर्णालीले विराटनगरसँग खेल्ने



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग–एनपीएलमा आज पनि दुई खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल बिहान पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ ।

आजको पहिलो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज भिड्ने छन् भने दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्ससँग खेल्दैछ।

काठमान्डु गोर्खाजले आज प्रतियोगिताको पाँचौं खेल खेल्दै छ । चितवन राइनोजको भने आजको खेल तेस्रो हुनेछ ।

दुवै टोलीले दुई–दुई खेल जितेका छन् ।

चितवनले एक खेलमा पराजय भोग्दा काठमाडौंले दुई खेलमा हार ब्यहोरेको छ ।

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा उसले विराटनगर किंग्सलाई ४८ रनले हराएको थियो ।

काठमान्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले र तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले पराजित भएको थियो। चौथो खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले हराएको थियो ।

विराटनगरले पनि आज प्रतियोगिताको पाँचौं खेल खेल्दैछ । उसले अघिल्लो ४ खेलमध्ये तीन खेलमा विजयी हुँदै ६ अंक जोडेर अंक तालिकाको दोस्रो स्थान कायम राखेको छ ।

विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले, दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले, तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको थियो ।

चौथो खेलमा विराटनगर चितवन राइनोजसँग ४८ रनले पराजित भएको थियो ।

अंक तालिकाको पाँचौं स्थानमा रहेको कर्णाली याक्सले अहिलेसम्म तीन खेल खेलेको छ । तीनमध्ये एक खेलमात्रै जितेको कर्णालीको २ अंक छ ।

कर्णालीले पहिलो खेलमा चितवन राइनोजससँग ४ विकेटले पराजय ब्यहोरेको थियो । दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराउँदा तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको थियो ।