२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

व्यावसायिक तरकारीखेतीबाट वार्षिक १० लाख बचत गर्छन् महतो

व्यावसायिक तरकारीखेतीबाट वार्षिक १० लाख बचत गर्छन् महतो
अ अ+ अ-

बरहथवा, (सर्लाही) । सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् । उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारीखेती गर्ने किसानहरूसमेत बढिरहेका छन् ।

जिल्लाको लालबन्दी, हरिवन, बाग्मती, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा ठूलो क्षेत्रफलमा, आलु, गोलभेँडा, बोडी, भिन्डी, भान्टा, काउली, बन्दा, खोर्सानी, परबरलगायत तरकारी उत्पादन हुँदै आएको छ । यसले किसानहरूको आयआर्जनमा समेत ठूलो टेवा पुगेको छ ।

लालबन्दी नगरपालिका–१०, हिरापुरका तरकारी किसान सीयाशरण महतो व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्ने अवस्था रहेको बताउनुहुन्छ । उमेरले ३५ लाग्नुभएका महतोले २० वर्षको उमेरदेखि नै व्यावसायिक तरकारीखेतीमा लागेदेखि कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको सुनाउनुभयो । बुबा हजुरबुबाबाट तरकारीखेती गर्न सिकेका महतोले आधुनिक खेती प्रणाली भने आफैँले छ महिने कृषि ‘जेटिए’ कोर्ष गरेपछि सिक्नुभएको हो । उहाँले मौसमीभन्दा बढी बेमौसमी तरकारीखेती गर्दै आएको र यसले मौसमी खेतीभन्दा १० गुणासम्म बढी आम्दानी  हुने उहाँले सुनाउनुभयो ।

“हाल चार बिगाहा खेतमा तरकारी गरिरहेको छु । त्यसमध्ये २५ कट्ठामा गोलभँेडा, सात कट्ठामा हरियो सिमी र आठ कट्ठामा भिन्डी लगाएको छु । यस सिजनको अन्तिममा निस्कने गरी १४ कट्ठा खेतमा कविता जातको टमाटर रोप्ने योजनासहित बेर्ना उत्पादन गरिरहेको  छु”, महतोले भन्नुभयो ।

सुरुमा पढाइपछिको फुर्सदको समयमा बुबाआमालाई खेतीमा सघाउने गर्दागर्दै तरकारीखेती गर्न सिकेको उहाँले सुनाउनुभयो । “पहिला बाउबाजेले गरेको देखेरै सिकेको हो,” उहाँले भन्नुभयो, “पढाइबाट फुर्सद हुने बित्तिकै आमाबुबाले खेतमा काम लगाउनु हुन्थ्यो । पछि बुबाले एउटा छोराले कम्तीमा जेटिए पढे हुन्थ्यो भन्ने धारणा राख्नुभयो । आफूलार्ई पनि खेतीपातीतर्फ लगाव बढ्यो यतै लागियो । परिवारसँगै बसेर तरकारी बेचेर विदेशको भन्दा राम्रो आम्दानी भइरहेको छ ।”

महतोले तरकारीखेतीबाट भएको आम्दानीबाट दुई वर्ष पहिला मात्र पाँच कट्ठा खेत जोडेको सुनाउनुभयो । “तरकारीखेती मेरो एक मात्र आय आर्जनको माध्यम हो । यसैबाट मैले पाँच कट्ठा खेत जोडेको छु । तरकारी बेचेर महिनाको रु दुई लाखसम्म आम्दानी गरेको अनुभव छ”, उहाँले भन्नुभयो, “गत वर्ष ‘अफ सिजन’मा सिमी निकाले दुईदेखि तीन हप्तामा रु ६०/७० हजारसम्म भयो । सबै तरकारी बेच्दा महिनाको रु दुई लाखसम्म आम्दानी भयो ।”

तरकारी खेतीबाट आफूले वर्षभरिमा मलखाद, बीउबिजन, औषधि, मजदुरी, ढुवानी खर्च सबै कटाएर रु १० लाखसम्म बचत गर्ने गरेको महतोका भनाइ छ । यसमा श्रीमतीले राम्रो सहयोग गरिरहेको उहाँको भनाइ छ । मौसम र मूल्य सधैँ एकनास नरहने भएकाले आम्दानी तलमाथि भइरहने बताउने महतोले यसै कमाईबाट एक छोरा र एक छोरीलाई राम्रो शिक्षा दिनुका साथै परिवारको लालनपालन भइरहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार सर्लाहीमा १७ हजार ६६२ परिवारले तीन हजार ८४२ दशमलव सात हेक्टर क्षेत्रफलमा विभिन्न तरकारी खेती गर्दै आएका छन् । यहाँ उत्पादन भएका तरकारी जिल्लाको लालबन्दीस्थित थोक तरकारी तथा कृषिउपज सङ्कलन केन्द्रमा जम्मा गरेर देशका अन्य सहरमा निर्यात हुँदै आएको छ । रासस