२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनका सहिदः जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो



अ+ अ-

काठमाडौँ । बैतडीको शिवनाथ गाउँपालिका–२ मडैगाउँ स्थायी घर भई कोरियाली भाषा अध्ययनका लागि काठमाडौँ आउनुभएका १८ वर्षीय दीपकबहादुर साउदको कोरिया गएर परिवारको आर्थिकस्तर उकास्ने सपना जेनजी आन्दोलनको क्रममा सपनामै रोकियो ।

गत भदौ २४ गते काठमाडौँको कालीमाटी क्षेत्रमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर उहाँको आँखामा चोट लागेको थियो र उक्त गोलीले मस्तिष्कमा पनि असर गरेकाले त्यसकै कारण ‘बे्रन डेड’ भई मृत्यु भएको थियो ।

आन्दोलनको पहिलो दिन भदौ २३ गते साँझ आफ्नै छोरासँग अन्तिम संवाद गर्ने अवसर पाउनुभएकी आमा लक्ष्मी साउदका आँखा अझैसम्म पनि रसाएका छन् । छिमेकी र आफन्तले सात्वना दिन आउँदा पनि उहाँ सम्हालिन सक्नुहुन्न । भदौ २३ गते काठमाडौँमा १७ जना र सुनसरीमा दुई युवाको मृत्युको खबर सुनेपछि आमा लक्ष्मीले छोरालाई आन्दोलनमा नजान, कोठामै बस्न वा घर फर्किन भन्नुभएको थियो । “मैले भनेको मानेको भए सायद मेरो छोरो हामीसँगै हुन्थ्यो होला”, आमा सम्झिनुहुन्छ । तर दीपकले आफ्नो उमेर समूहका साथीहरूले दिएको बलिदान र देशमा व्याप्त भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुने इच्छा व्यक्त गर्दै आमासँग भन्नुभएको थियो, “यदि मेरा साथीहरू जान्छन् भने म पनि जानेछु । यसमा मलाई नरोक्नु आमा । आन्दोलनमा जाँदैमा मरिन्छ भन्ने पनि होइन ।”

आन्दोलनमा सहभागी भएसँगै भदौ २४ गते बेलुकीदेखि उहाँसँग मोबाइलमा सम्पर्क टुटेको भाउजू सरस्वती साउद बताउनुहुन्छ । दीपक दुई जना अन्य साथीसँग काठमाडौँको कीर्तिपुरमा कोठा लिएर बस्दै आउनुभएको थियो । बेलुकी साथीहरूले दीपक घाइते भएर अस्पताल लगिएको र उपचार भइरहेको जानकारी दिएका थिए तर भदौ २५ गते बिहान अप्रत्याशित रूपमा उहाँको निधनको खबर परिवारले पायो । “त्यो खबरले घरको आशा र भरोसा दुवै तोडिदियो”, भाउजू सरस्वती भन्नुहुन्छ, “यस्तो खबर सुन्नुप¥यो भनेर कसैले सोचका पनि थिएनौँ ।”

दीपक पढाइमा पनि अत्यन्त मेहनती हुनुहुन्थ्यो । घर नजिकैको विद्यालयमा ११ कक्षा अध्ययन गर्दैगर्दा कोरियन भाषा परीक्षाको तयारीका कारण विद्यालय नजाँदै एकैपटक १२ कक्षा उत्तीर्ण गर्नुभएको थियो । पाँच भाइमध्ये तेस्रो दीपकका दुई भाइ गाउँकै विद्यालयमा पढ्दैछन् भने दुवै दाजु रोजगारीका लागि भारतको मुम्बइमा रहेका छन् । भाइको मृत्युको घटनाको खबर पाएपछि मुम्बइबाट गत भदौ २७ गते मात्रै जेठा दाजु वीरेन्द्र काठमाडौँ आउनुभएको थियो । चिकित्सकले वीरेन्द्रसँग भाइको आँखामा गोली लागेर ‘बे्रन डेड’ भएर मृत्यु भएको बताएका थिए । वीरेन्द्र भन्नुहुन्छ, “हामी आउँदासम्म भाइको शव ट्रमा सेन्टरमा राखिएको थियो । भिडियो एक्सरे हेर्दा एक आँखामा गोली लागेको देखियो ।”

वीरेन्द्र थप्नुहुन्छ, “अब केही गरे पनि मेरो भाइ फर्किने छैन तर आन्दोलनमा गएर ज्यान गुमाएका युवाहरूको उद्देश्य सरकारले पूरा गर्नैपर्छ ।” गाउँलेहरू पनि दीपकको बलिदान सम्झँदै दुःख व्यक्त गर्छन् । दीपक आफ्नो गाउँमा इमान्दार र सहयोगी युवा भनेर परिचित हुनुहुन्थ्यो । शिवनाथको मडैगाउँले एक होनहार युवा गुमाएको छ ।

सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जना युवालाई सहिद घोषणा गरिसकेको छ, जसमा दीपक पनि एक हुनुहुन्छ । उहाँको परिवारको एउटै भनाइ छ, सहिद घोषणा मात्र पर्याप्त छैन उनीहरूले उठाएका माग पूरा गर्न सरकारको इच्छाशक्ति, राजनीतिक दल र नागरिक समाजलगायत सवै पक्षको सहयोग अपरिहार्य छ । दीपकको कथा केबल व्यक्तिगत पीडा मात्र होइन, यो त्यस पुस्ताको आवाज हो, जसले भ्रष्टाचार र असमानताविरुद्ध देशमा उज्यालोको आशा बोकेको छ ।