४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर

पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर
अ+ अ-

भारदेउ । धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी (कोन्ज्योसोम) डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । सङ्घीय सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७९र८० मा रु १० लाख बजेट विनियोजन गरेर सुरु भएको मन्दिरको पुनःनिर्माण बजेट सकिएपछि अलपत्र भएको हो ।

सङ्घीय मन्त्रालयले कोन्ज्योसोम गाउँपालिकामा बजेट पठाएर मन्दिर पुनःनिर्माण सुरु गरेको थियो । उक्त बजेट सकिएपछि मन्दिर पुनःनिर्माण अलपत्र बनेको छ । अर्को वर्ष बजेट नआएकाले तीन वर्षदेखि मन्दिर अलपत्र बनेको हो । यस क्षेत्रका धार्मिक पर्यटकीयस्थलमध्ये बालेश्वरी मन्दिर पनि एक पर्दछ । नख्खु खोलाको मुहानमा पर्ने यो मन्दिर पुनःनिर्माण सम्पन्न गर्न सरोकार भएका कुनै पनि निकायले ध्यान नदिएका स्थानीयको गुनासो छ ।

गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेले पालिकाका तर्फबाट दुई पटक गरी रु नौ लाख बजेट छुट्याइए पनि उपभोक्ता समितिबाट काम हुन नसकेको बताउनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर जीर्ण भएको थियो । मन्दिर पुरानै स्वरुपमा बनाउनुपर्नेमा मापदण्ड नमिलेर रोकिएको उहाँको भनाइ छ ।

कोन्ज्योसोम गाउँपालिका–५ का वडाध्यक्ष विजय लामाले समितिले मन्त्रालयमार्फत् विनियोजन गरेको रकमबाट किनेको काठ अलपत्र भएको बताउनुभयो । उहाँका अनुसार पुरातात्विक महत्वको यो मन्दिर नबन्दा यहाँ भएका ऐतिहासिक एवं धार्मिक महत्वका सामग्री पनि नष्ट हुन थालेका छन् ।

यहाँको बाघको पञ्जा भएको ढुङ्गा संरक्षणस्थलको अभावमा फुटेको स्थानीय सुरेन्द्र श्रेष्ठले बताउनुभयोे । उहाँका अनुसार ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण यो मन्दिरमा प्रत्येक वर्ष पुस मसान्तमा बत्ती बाल्नेको घुइँचो लाग्दछ भने माघ १ गते यहाँ मेला लाग्ने गरेको छ ।

समुद्री सतहबाट दुई हजार ५७५ मिटर उचाइमा अवस्थित फूलबारी डाँडाको फेदीमा रहेको यो मन्दिरमा पुग्ने सबै आन्तरिक एवं बाह्य पर्यटक अलपत्र संरचनाका कारण पुग्न समस्या हुने गरेको श्रेष्ठले बताउनुभयो । माथिको डाँडाबाट एक दर्जन बढी हिमाली शृङ्खला देखिने भएकाले आन्तरिक एवं बाह्य पर्यटकको यस क्षेत्रमा घुइँचो हुन थालेको हो ।

कोन्ज्योसोम डाँडासमेत भनिने यो स्थान फूल्चोकी डाँडाको दक्षिणपूर्वी भागमा पर्दछ । नगरकोटबाट भन्दा धेरै हिमाल देख्न सकिने यो स्थानमा अहिले आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । यही डाँडाको करिब १०० मिटर तल धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको गुप्तेश्वर महादेव मन्दिरसहित गुफा पनि छ ।

फूलबारीडाँडामा पनि केही वर्षअघि बौद्ध दर्शन अनुसार त्रिदेवको प्रतिमा स्थापना गरिएपछि हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको पवित्रस्थलका रुपमा यो ठाउँ स्थापित भएको छ । प्राचीनकालदेखि यहाँ दुवै धर्मावलम्बी आस्था एवं विश्वासका साथ पुग्ने गरेका थिए । भारदेउलगायत राजधानीका विभिन्न स्थानमा लामो समय खडेरी प¥यो भने गुप्तेश्वर महादेवको पूजा आराधना गरेपछि पानी पर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

प्राकृतिक र सांस्कृतिक पर्यटकीय दृष्टिले आकर्षक रहेको कोन्ज्योसोममा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यहाँका स्थानीयवासी पनि लागिपरेका छन् । आन्तरिक एवं बाह्य पर्यटकका लागि आवश्यक विभिन्न पूर्वाधार निर्माणमा उनीहरू जुटेका हुन् ।

सातदोबाटोबाट करिब २२ किमीको दूरीमा कोन्ज्योसोम गाउँपालिका–५ स्थित भारदेउ पुगिन्छ । बालेश्वरी मन्दिर, फूलबारीडाँडा र गुप्तेश्वर महादेव मन्दिरमुनिको यो बस्तीमा आन्तरिक एवं बाह्य पर्यटकलाई स्वागत गर्न चार वटा घरवास ९होमस्टे० खुलेका छन् । त्यसमध्येको १२७ वर्ष पुरानो एक पुरातात्विक महत्वको घर जसलाई १७ झ्याले पनि भनिन्छ, यसमा खुलेको होमस्टे धेरैको आकर्षणको केन्द्र बनेको छ ।

यहाँका लालकाजी मोक्तानको पाँच पुस्ताअघिका पूर्खाले बनाएको यो घर अहिले पनि उही स्वरुपमा छ । विसं १९९०, २०४५ र २०७२ सालको तीन, तीन वटा भूकम्पले पनि यो घरलाई केही असर गरेको छैन । जसको छानामात्र खरबाट जस्तामा फेरिएको छ । यही घरमा उहाँलगायत सात जनाको समूहले होमस्टे चलाउनुभएको हो । यो होमस्टेमा प्रत्येक शुक्रबार खचाखच आन्तरिक एवं बाह्य पर्यटक आउने गरेका छन् । होमस्टे आउने पर्यटकलाई स्थानीय उत्पादन खुवाएर आकर्षित गर्ने गरिएको छ ।

कोन्ज्योसोम गाउँपालिकाका पूर्वअध्यक्ष गोपीलाल सिङ्तान पनि कोन्ज्योसोम धार्मिक पर्यटन विकास समिति गठन गरेर यहाँको पर्यटन प्रवर्द्धनमा लागिपर्नुभएको छ । उहाँलगायतको समूहले भारदेउ भ्यू मिनी रिसोर्ट स्थापना गरेर पर्यटकीय पूर्वाधारको आवश्यकता पनि पूरा गर्नुभएको हो । रिसोर्ट नामाकरण गरिए पनि होमस्टेकै स्वरुपमा यसलाई सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

सिङ्तान नेतृत्वको धार्मिक पर्यटन विकास समितिले गाउँपालिकासँग सम्झौता गरी फूलबारीडाँडामा निर्माण भएको त्रिदेव प्रतिमा र गुप्तेश्वर महादेव मन्दिर क्षेत्रको रेखदेख एवं सञ्चालन गर्ने भएको छ । गुप्तेश्वर सामुदायिक वन रहेको यो क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनाउन यहाँ पुग्ने सडक पूर्वाधारलाई सुधार गरिनुपर्ने स्थानीयवासीको माग छ । राजधानीबाट करिब डेढ घण्टामा पुग्न सकिने यस स्थानमा सडक सुधार गर्न सके धेरैले सप्ताहान्तको छुट्टी मनाउने स्थलका रुपमा विकास गर्न सकिन्छ ।

रातोघर र पहेँलोघर नामबाट अरु दुई होमस्टे पनि यहाँ सञ्चालनमा छन् । शुक्रबार यहाँ पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई यी होमस्टेले मात्र नधान्ने भएपछि खाली रहेका २०–२५ वटा पुराना घरमा सामुदायिक होमस्टे सञ्चालनका लागि यहाँका स्थानीयवासीले तयारी गरेका स्थानीय ज्ञानबहादुर मोक्तानले जानकारी दिनुभयो ।

राजधानीको धुँवा, धुलोमा दिक्क भएकालाई यहाँको पदमार्गले आकर्षण गर्ने गरेको छ । गोदावरीबाट फूलचोकी हुँदै कोन्ज्योसोमसम्म पदमार्ग रहेको छ । यो मार्ग पुरानो हो । पछिल्लो समय फूलचोकी जङ्गलमा वृद्धि भएको चितुवालगायत वन्यजन्तुका कारण यो मार्गको कम प्रयोग भए पनि १५ देखि २० जनासम्म पदयात्रीका लागि भने उपयुक्त हुने स्थानीय मोक्तानले बताउनुभयो ।

कोन्ज्योसोम डाँडाबाट काभ्रेपलान्चोकको बेथानचोक बतासे गुम्बा हुँदै नारायणस्थानसम्म अर्को पदमार्ग पर्दछ । कोन्ज्योसोम डाँडाबाट महाङ्काल गाउँपालिकाको कालेश्वर मन्दिरसम्म अर्को पदमार्गको पनि रहेको उहाँले सुनाउनुभयो । काठमाडौँ उपत्यकामा राजधानीबाट नजिक रहेको यो ठाउँको प्रचारप्रसार नभएकैले अहिलेसम्म ओझेलमा परेको स्थानीयवासी बताउँछन् ।

कोरोनाअघिसम्म कोन्ज्योसोम क्षेत्रको पर्यटकीय आकर्षणका बारेमा चर्चासम्म पनि हुन्थेन । कोरोनाका समयमा गाउँपालिकाले स्थानीयवासीलाई रोजगारी दिने गरी भारदेउबाट फूलबारी डाँडासम्मको सडक खनेपछि यसको महत्व जनसमक्ष आएको हो । फूलबारीडाँडा अहिले धेरै युवायुवतीको पनि घुमफिर गर्ने आकर्षणको केन्द्र बन्न सफल भएको छ ।

कोन्ज्योसोमबाट बिहान ७ बजे लगनखेल जाने सार्वजनिक यातायातको व्यवस्था छ । चापागाउँबाट प्रत्येक दिनको दिउँसो ३ः०० बजे कोन्ज्योसोमका लागि सार्वजनिक यातायात छुट्ने गरेको छ । अरु यातायातको सुविधा नहुँदा भने यहाँ जान समस्या हुने गरेको छ । यहाँ जाने सडक विभिन्न स्थानमा कच्ची भएकाले यात्रुलाई केही असहज हुने गरेको छ । सडक कालोपत्रका लागि बोलपत्र आह्वान भइसकेको जनाइएको छ । वाग्मती प्रदेश सरकारले यहाँको सडक कालोपत्र गर्न बोलपत्र गरेको हो ।

फूलबारी डाँडाको त्रिदेव प्रतिमास्थल र गुप्तेश्वर महादेव मन्दिरको पूजा, आराधना एवं दर्शनका लागि पनि दैनिक सयौँ ललितपुर बाहिरका पर्यटक आउने गरेका छन् । यहाँको गुप्तेश्वर महादेव मन्दिरमा प्रत्येक वर्षको साउन महिना, महाशिवरात्रि, बालाचतुर्दशीलगायत पर्वमा मेला लाग्ने गरेको छ ।

यसैगरी त्रिदेव बुद्ध प्रतिमास्थलमा सोनाम ल्होसार, वैशाख १ गते नयाँ वर्ष र वैशाख पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । यहाँबाट सगरमाथा, गौरीशङ्कर, माछापुच्छ्रे, मनास्लु, धवलागिरि, गणेश, लामाटाङ, जुगललगायत दर्जन बढी हिमाल देखिन्छ । शुक्रबार बेलुकी गएर भारदेउका होमस्टेमा बसेका आन्तरिक एवं बाह्य पर्यटक शनिबार भने बिहान ७ बजे नै फूलबारीडाँडामा हिमाल हेर्न जाने गरेका छन् । प्रत्येक हप्ताको शुक्रबार र शनिबार यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको घुइँचो हुने गरेको छ । पर्यटक अनुसार यहाँ होमस्टेलगायत पूर्वाधार भने छैन । रासस