काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको चार घण्टापछि पुन: सञ्चालनमा आएको छ । साँझ साढे ५ बजेदेखि बन्द भएको विमानस्थल राति ९ बजेर ३६ मिनेटमा खुलेको हो ।
धावन मार्गमा अकस्मात बिजुली अवरुद्ध भएपछि विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पूर्णरुपमा बन्द भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले धावनमार्गसँग सम्बन्धित विद्युत् आपूर्ति पुन: सञ्चालन गरी विमानस्थल सञ्चालनमा ल्याइएको बताएका छन् ।
विमानस्थल पुन: सञ्चालनमा आएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू क्रमिक रूपमा पुन: सुरु भएका छन् ।
के कारणले यो समस्या आएको हो भन्नेबारे प्राधिकरणले थप अध्ययन गर्ने भएको छ ।
लामो समय लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’ भएका थिए भने केहीलाई अन्यत्र पठाइएको थियो । आन्तरिक उडानका जहाजलाई भने विमानस्थलमा रोकिएको थियो ।









