५ असार २०८३, शुक्रबार
,
Latest
सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन



अ+ अ-

म्याग्दी। अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।

यही कात्तिक १० देखि १५ गतेसम्म परेको झरी र हिमपातका कारण स्थानीय प्रशासन र अन्नपूर्ण गाउँपालिकाले उक्त पदमार्ग भ्रमणमा रोक लगाएका थिए । मौसममा सुधार भएपछि पदमार्ग पुनःसञ्चालन भएको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले जानकारी दिनुभयो ।

“चिसो बढे पनि पर्यटक आगमन रोकिएको छैन”, उहाँले भन्नुभयो, “पदमार्ग भ्रमण खुला भएपछि पर्यटकको चहलपहल बढेको छ ।” छोटो अवधिमा पहाडी र हिमाली क्षेत्रको एकैपटक साहसिक यात्रामा रुचि राख्नेहरूका लागि अन्नपूर्ण हिमालको आधार शिविर नयाँ गन्तव्यका रूपमा विकास भएको छ ।

फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल हुँदै चार हजार १९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ । तीन दिनमा निलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको आधार शिविर पुगेर फर्कन सकिन्छ ।

नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।

नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो ।

गत वसन्त यामदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका बासिन्दाले हुमखोला, फुतफुते झरना, साघीखर्क, गुफाँफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर ५०–५० जना क्षमताको होटल सुरु गरेका थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा स्थायी भौतिक संरचना निर्माणका लागि प्रक्रिया पूरा गरेर सरकारको अनुमति लिनुपर्छ । भुसकेतका होटल व्यवसायी माइकल पुनले काठ, त्रिपाल, जस्तापाताको टहरा तथा टेन्टमा पर्यटकलाई राख्ने गरिएको बताउनुभयो ।

“एक्यापले ५० जना पाहुना राख्न सक्ने अस्थायी संरचना बनाउन अनुमति दिएको छ”, उहाँले भन्नुभयो, “पर्यटकको सहज व्यवस्थापनका लागि बुकिङ गरेर भ्रमणमा आउन अनुरोध छ ।” रासस