काठमाडौं । नेपाल प्रहरीको ३३ औं महानिरीक्षकका लागि चार जना एआईजीबीच तीव्र प्रतिस्पर्धा छ । ८ जना एआईजी भए पनि चार जनाबीच भावी नेतृत्वको प्रतिस्पर्धा चलेको हो ।
प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ यही कात्तिक २६ गते अवकाशमा जाने भएपछि भावी आईजीपी बन्ने होडबाजी छ ।
आईजीपी बन्न प्रतिस्पर्धामा रहेका ४ प्रहरी अतिरिक्त महानिरीक्षकहरुमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआईजीपी दानबहादुर कार्की, मानव स्रोत साधन विभागमा कार्यरत एआईजी राजन अधिकारी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत डा. मनोज केसी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) महाराजगञ्जमा कार्यरत सिद्धिविक्रम शाह छन् ।
वरिष्ठताका आधार हेर्ने हो कार्की पहिलो नम्बरमा छन् । तर दोस्रो बरियतामा रहेका अधिकारीले आफूलाई अब्बल पुष्टि गर्ने प्रयास थालेका छन् । अधिकारी बौद्धिक र शालिन प्रहरी अधिकारीका रुपमा प्रहरी संगठनमा परिचित छन् ।
रोचक कुरा के छ भने अमेरिकाको भिषा र प्रहरी निरीक्षक छनोट एकै पटक पर्दा उनले अमेरिका जाने कुरा त्यागेर नेपाल प्रहरी सेवा रोजेका थिए । कानुनमा स्नातकोत्तर (एलएलएम) पूर्वाञ्चल विश्वविद्यालयबाट गोल्डमेडल (२०६७) प्राप्त उनी बौद्धिक, शालिन भद्र र आफ्नो पद कामको जिम्मेवारीप्रति कर्तव्यनिष्ठ छन् ।
२०५४ सालमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका उनी २०६६ सालमा नायव उपरीक्षक भएका थिए । २०७४ सालमा उपरीक्षक, २०७९ सालमा वरिष्ठ उपरीक्षक हुँदै २०८१ सालमा प्रहरी नायव महानिरीक्षकमा बढुवा भएका थिए । २०८२ सालमै प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका उनले विभिन्न पदक र प्रशंसापत्रसमेत प्राप्त गरेका छन् ।
त्यसो त आईजीपीका दाबेदार अरु एआईजीहरु पनि आ–आफ्नो क्षेत्रमा दख्खल भएका अधिकृतहरु हुन् । यसपटक सुशीला कार्की नेतृत्वको गैरराजनीतिक सरकार भएकाले पनि अधिकारीले नै बाजी मार्न सक्ने चर्चा प्रहरी संगठनमा चलेको छ ।










