५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्ड्र्यु–एपस्टिन प्रकरणमा बेलायती शाही परिवारप्रति ‘नराम्रो’ महसुस भएको राष्ट्रपति ट्रम्पको अभिव्यक्ति



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका राजा चाल्र्स तृतीयका भाइ पूर्व राजकुमार एन्ड्र्यु र दिवङ्गत यौन अपराधी जेफ्री एपस्टिनबीचको अपमानजनक सम्बन्ध प्रकरणप्रति दुःख प्रकट गर्नुभएको छ । उहाँले उक्त घटनाका कारण बेलायती शाही परिवारप्रति ‘नराम्रो महसुस’ भएको बताउनुभयो ।

एयर फोर्स वनमा रहेका बेला एएफपीका पत्रकारले हालैको शाही विवादबारे प्रश्न गर्दा ट्रम्पले भन्नुभयो, “म निकै नराम्रो महसुस गर्छु । यो परिवारका लागि निकै डरलाग्दो र दुःखद अवस्था हो । वास्तवमै म उहाँहरूप्रति सहानुभूति महसुस गर्छु ।”

७९ वर्षीय ट्रम्प आफैँ पनि न्युयोर्कका धनी वित्तीय कारोबारी एपस्टिनसँगको आफ्नै सम्भावित सम्बन्धका कारण पछिल्ला महिनाहरूमा राजनीतिक दबाबमा रहँदै आउनुभएको छ । एपस्टिनको सन् २०१९ मा जेलमा रहँदै मृत्यु भएको थियो ।

ट्रम्पको टिप्पणी त्यस्तो समयमा आएको छ जतिबेला बेलायती सरकारले पूर्व राजकुमार एन्ड्र्युको बाँकी रहेको मानार्थ ‘भाइस–एडमिरल’ पद समेत खोस्ने तयारी गरिरहेको छ । उहाँलाई अब औपचारिक रूपमा एन्ड्र्यु माउन्टब्याटन–विन्डसर भनेर चिनिन्छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले विगतमा बेलायती शाही परिवारप्रति बारम्बार प्रशंसा प्रकट गर्नुभएको छ । केही महिना अघि सेप्टेम्बर महिनामा राजा चार्ल्सले उहाँलाई भव्य राजकीय भ्रमणका क्रममा विन्डसर क्यासलमा राजकीय भोज, सैन्य परेड र फ्लाइओभरसहितको स्वागत गर्नुभएको थियो ।

तर यता ‘एपस्टिन फाइल’ का नामले चिनिएका कागजातहरू पुनः सार्वजनिक भएपछि एपस्टिनसँग लामो समयको सम्बन्ध रहेका ट्रम्पको दोस्रो कार्यकाल पनि विवादको केन्द्रमा तानिएको छ ।

जुलाईमा ट्रम्प प्रशासनले नयाँ प्रमाण नपाइएकाले एपस्टिनसम्बन्धी थप कागजात सार्वजनिक गर्ने वा नयाँ अनुसन्धान सुरू गर्ने कुनै आवश्यकता नभएको घोषणा गरेको थियो । एपस्टिनले आफूले यौन मसाजका नाममा भर्ती गराएका कम उमेरका किशोरीहरूलाई यौन तस्करीमा प्रयोग गरेको अभियोगमा जेल सजायको पर्खाइमै आत्महत्या गरेका थिए ।

अधिकारिहरूले उक्त मृत्यु आत्महत्या भएको पुष्टि गरे पनि यस घटनापछि ट्रम्पका समर्थकहरूबीच अनेकौँ षड्यन्त्र सिद्धान्त फैलिएका छन् — जसअनुसार एपस्टिनलाई उच्च–प्रोफाइल व्यक्तिहरूको रहस्य उजागर हुन नदिन हत्या गरिएको थियो ।

ट्रम्पले भने एपस्टिनसँग कुनै प्रत्यक्ष संलग्नता नरहेको बारम्बार दोहोर्‍याउँदै यो विषयलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूले सिर्जना गरेको ‘पूर्ण कपट’ भनेर खारेज गर्नुभएको छ ।

पूर्व राजकुमार एन्ड्र्यु र एपस्टिनबीचको सम्बन्धले बेलायतमा ठूलो सार्वजनिक आक्रोश सिर्जना गरेको छ । यसै कारण राजा चार्ल्स तृतीयले विगत बिहीबार आफ्ना कान्छा भाइ एन्ड्र्युका सबै बाँकी शाही उपाधि र सम्मानहरू खोस्नुभएको र उहाँलाई विन्डसर एस्टेटस्थित स्थायी निवासबाट निष्कासन गर्नुभएको थियो ।

बेलायती रक्षामन्त्री जोन हिलीले आइतबार बिबिसीसँगको अन्तर्वार्तामा भन्नुभयो, “राजाको निर्देशनअनुसार हामी अहिले उहाँको बाँकी रहेको भाइस–एडमिरलको उपाधि पनि हटाउने तयारीमा छौँ ।”

एन्ड्र्युले सन् १९८२ को फकल्यान्ड युद्धमा रोयल नेभीमा हेलिकप्टर पाइलटका रूपमा सेवा गर्नुभएको थियो र त्यसका लागि सम्मानित हुनुभएको थियो । उहाँले २२ वर्षको सैन्य सेवापछि सन् २००१ मा सेवानिवृत्ति लिनुभएको थियो ।

सन् २०२२ मा एपस्टिनकी मुख्य अभियोगकर्ता भर्जिनिया गिफ्रेद्वारा दायर मुद्दापछि, तत्कालीन रानी स्वर्गीय एलिजाबेथ द्वितीयले पनि एन्ड्र्युका अन्य मानार्थ सैन्य उपाधि खोस्नुभएको थियो । गिफ्रेको दाबीअनुसार उनलाई किशोरावस्थामै तस्करी गरी एन्ड्र्युसँग तीन पटक यौन सम्बन्ध राख्न बाध्य पारिएको थियो, जसमा दुई पटक उनी केवल १७ वर्षकी थिइन् ।

एन्ड्र्युले भने ती सबै आरोपहरू अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गर्दै आउनुभएको छ । यस प्रकरणले अहिले पुनः शाही परिवारमाथि नै गम्भीर चुनौती र जनआक्रोश उत्पन्न गरेको छ ।