काठमाडाैँ । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भोटेकोशी बाढीपछिको विपद्को समयमा राहत र पुनर्स्थापनाका लागि होटल पौवाले राहत कोषमा सहयोग गरेकोमा आभार व्यक्त गरे । उनले विपद् बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रबाट हुने सहयोग महत्वपूर्ण हुने बताए ।
होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले सबै पौवाका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरूले समेत आफ्नो तर्फबाट रकम संकलन गरी विपद्मा परेको देशलाई सहयोग गरेको बताए । ‘रकम ठूलो नभए पनि अहिले देश महाविपत्तिको अवस्थाबाट गुज्रिरहेका बेला हाम्रो सानो सहयोगले पनि प्रभावित नागरिकका लागि केही राहत पुग्ने विश्वास गरेका छौँ,’ ज्ञवालीले भने ।
होटल पौवाले व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कार्यक्षेत्रको महत्वपूर्ण हिस्सा मान्दै आएको जनाएको छ । विपद्, सामाजिक सेवा तथा समुदायसँग सम्बन्धित विभिन्न गतिविधिमा पौवाले यसअघि पनि सहयोग गर्दै आएको छ । चेक हस्तान्तरण कार्यक्रममा होटल पौवाका सञ्चालक समितिका सबै सदस्यहरूको उपस्थिति रहेको थियो ।








