१ आश्विन २०८३, बिहीबार
,
Latest
कांग्रेसभित्रको विभाजनप्रति शेखरको असन्तुष्टि, भने: अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक व्यवस्था गर्न सांसद खड्काको माग बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग कृष्णभीरमा तत्कालीन बाटो खुले पनि दीर्घकालीन सुरक्षाका लागि काम अघि बढाइने हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी सङ्कलन डोटीमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ हुँदै इलाममा सवारी दुर्घटना हुँदा चालकको मृत्यु हदबन्दीसहित निजी क्षेत्रका कानूनी समस्या समाधान गर्न सरकार गम्भीर छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हदबन्दीसहित निजी क्षेत्रका कानूनी समस्या समाधान गर्न सरकार गम्भीर छ : सभामुख अर्याल



अ+ अ-

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको हदबन्दीसहितका कानूनी समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले निजी क्षेत्रसँग सम्बन्धित कानूनी समस्या समाधानका लागि सरकारले प्रक्रिया अघि बढाइसकेको बताउनुभयो । कानून संशोधन तथा निर्माणमा केही समय लाग्नु सरकारको निष्क्रियता नभएको उहाँको भनाइ थियो ।

सभामुख अर्यालले हतारमा कानून संशोधन गर्दा पुनः केही वर्षमै संशोधन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर कानून निर्माण गर्न खोजिएको बताउनुभयो । त्यसका लागि सरोकारवाला, विज्ञ तथा नागरिकसँग पर्याप्त छलफल र परामर्श आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

“सरकार साँच्चिकै तयारी गरिरहेको छ । केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको हो,” उहाँले भन्नुभयो, “हामीले अहिले बनाउने कानून फेरि केही वर्षमै संशोधन गर्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले सरोकारवालासँग छलफल, विज्ञसँग परामर्श र नागरिकसँगको सुझाव लिएर कानून निर्माण गरिरहेका छौँ ।”

उहाँले नेपालको भूगोल, नागरिकको चेतनाको स्तर, शिक्षा तथा स्वास्थ्य प्रणाली, राज्यको क्षमता र विकासको आवश्यकतालाई सम्बोधन गर्ने गरी कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रको संरक्षण र व्यवसाय सञ्चालनका लागि सहज वातावरण निर्माण गर्न सरकार गम्भीर रहेको उहाँले बताउनुभयो ।

हदबन्दीलगायत निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका समस्याको समाधानका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै सभामुख अर्यालले त्यसको समाधान छिट्टै हुने विश्वास व्यक्त गर्नुभयो ।

निजी क्षेत्रले सरकार तथा राजनीतिक नेतृत्वसमक्ष आफ्ना सरोकार राख्नु स्वाभाविक अधिकार भएको उहाँले बताउनुभयो । विगतमा निजी क्षेत्रले सरकार तथा राजनीतिक नेतृत्वलाई आफ्ना पक्षमा प्रभाव पार्न भूमिका निर्वाह गरेको प्रसंग उल्लेख गर्दै उहाँले त्यसलाई आरोपका रूपमा नलिन आग्रह गर्नुभयो ।

सभामुख अर्यालले आगामी दिनमा उद्योग, व्यापार तथा व्यवसायको विकास सीमित व्यक्तिलाई मात्र लाभ पुग्ने खालको हुन नहुने बताउनुभयो । आर्थिक विकासको लाभ देशका दूरदराजमा रहेका नागरिकसम्म पुग्ने गरी नीति तथा कानून निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको योगदानलाई समेत राज्य र निजी क्षेत्रले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । विदेशमा न्यून पारिश्रमिकका लागि लामो समय श्रम गरिरहेका नेपाली नागरिकको अवस्थालाई ध्यानमा राख्दै स्वदेशमै आर्थिक गतिविधि र व्यवसाय विस्तारबाट व्यापक रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट निर्माण हुने नीति तथा कानूनले लगानी र व्यवसाय विस्तारसँगै रोजगारी सिर्जना र आर्थिक अवसरको विस्तारमा योगदान पुर्‍याउनुपर्ने सभामुख अर्यालको भनाइ थियो ।




भर्खरै