काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा गुरुयोजना स्वीकृत गर्दै क्रिकेट मैदानलाई राष्ट्रिय प्राथमिकतामा सूचीकृत गरेको हो । गुरुयोजनाअनुसार उक्त मैदान निर्माणमा करिब १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
सहरी विकासमन्त्री कुलमान घिसिङले यो आयोजना नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने बताए । उनका अनुसार, अन्तर्राष्ट्रिय खेलकुद आयोजनासँगै पर्यटन प्रवर्द्धनमा पनि यस मैदानको ठूलो योगदान रहनेछ ।

मन्त्री घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा जग्गासम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम रूप दिने र गुरुयोजनाअनुसार दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाउने अनुमति मन्त्रिपरिषद्बाट प्राप्त भएको जानकारी दिए ।
केही दिनअघि स्थलगत निरीक्षणमा पुगेका मन्त्री घिसिङले गुरुयोजनाअनुसार भइरहेको निर्माण कार्यलाई बजेट अभाव हुन नदिने गरी अगाडि बढाइने बताएका थिए। हाल रङ्गशालाको पहिलो चरणका संरचनाहरू निर्माणाधीन छन् ।
आगामी मङ्सिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) अघि नै पहिलो चरणको निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तीव्रगतिमा काम भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ ।










